काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको योजनालाई ढिलो गरी अगाडि बढाएको नेपाल एसबीआई बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउने उद्देश्यले निश्कासन गर्ने भनिएको एफपीओ प्रति कित्ता ९८० रुपैयाँमा निश्कासनको प्रस्ताव गरेको छ । 

बैंकले प्रिमियम मूल्यसहित एफपीओ प्रति कित्ता ९८० रुपैयाँ मूल्य प्रस्ताव गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको र त्यहाँबाट  कार्यविधि अनुसार मूल्यमा सामान्य हेरफेर भई स्वीकृत हुनसक्नेछ । त्यहाँबाट प्रिमियम मूल्य समेत तोकेर अनुमति आएपछि सर्वसाधारणका लागि एफपीओ जारी हुने बताइएको छ । 

यो बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७० : ३० को अनुपात कायम गर्ने उद्देश्यले ६७ हजार ७ सय ६७ कित्ता सेयरको अतिरिक्त निश्कासनको घोषणा गरेको थियो । 

हाल एसबीआई बैंकको  दोस्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ८ सय ८५ रहेको छ । १ सय रुपैयाँ अंकित मूल्य भएको बैंकको सेयरको प्रिमियम मूल्य प्रतिकित्ता ८८० प्रस्ताव गरिएको छ । हाल बैंकमा साधारण सेयर स्वामित्व २९.८८ प्रतिशत छ । 

केही समयअघिदेखि धितोपत्र बोर्डले सूचीकृत कम्पनीले एफपीओ निष्काशन गर्दा आफूखुसी प्रिमियम निर्धारण गरेको  र यसले लगानीकर्तालाई समस्या भएको भन्दै एफपीओ निश्कासनको स्पष्ट कार्यविधि नै बनाइसकेको छ । बोर्डको त्यही कार्यविधि अनुसार एफपीओ जारी हुन लागेको बैंकले स्पष्ट पारेको छ । 

बोर्डको कार्यविधिअनुसार प्रिमियम मूल्य निर्धारण गर्दा धितोपत्र बजारको १८० दिनको औसत, कम्पनीको भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान अवस्था, पुँजीकृत भएको आम्दानी र कम्पनीको किताबी मूल्य तथा आम्दानी अनुपात ध्यान दिइनुपर्छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५  मा सार्वजनिक निष्काशन गरी सूचीकृत भइसकेको कम्पनीले पुँजी वृद्धिका लागि नयाँ निष्काशनमार्फत सर्वसाधारणमा सेयर बिक्री गर्नका लागि विगत पाँच वर्षमा कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालन भई प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीभन्दा धेरै भएको हुनुपर्ने व्यवस्था छ ।