काठमाण्डौ । कोभिडबाट ग्रस्त भएपछि म्याग्दीको बेनीका सुमित सुवेदीको अवस्था एकाएक गम्भीर बन्यो । पोखरास्थित माछापुच्छ्रे बैंकको शाखामा डिजीटल बैंकिङ हेर्ने जिम्मेवारी पाएका सुवेदी कोभिड १९ को पहिलो लहरमै संक्रमित बन्न पुगेका थिए । पोखरामै रहँदा एक्कासी ज्वरो आएपछि पीसीआर गराउँदा कोरोना पुष्टि भएको थियो । त्यसको भोलिपल्टदेखि खोक्दा रगत आउन थालेपछि उनको पुनः जाँच भयो, पोखराका चिकित्सकले निमोनिया सुरु भएको भन्दै औषधि चलाए । पोखराकै एक अस्पतालमा बस्दा उनी निको हुनको साटो झन् झन् गम्भीर बन्दै गए । 

अवस्था गम्भीर बनेपछि ६ दिनको दिन माछापुच्छ्रे बैंकको प्रादेशिक हेडक्वार्टरको टिम र मुख्य कार्यालयको समन्वयमा उनलाई पोखराबाट उद्धार गरी काठमाण्डौ ल्याइयो । काठमाण्डौको स्टार हस्पिटलमा राखेर उपचार थालियो । काठमाण्डौ आएपछि मात्र थाहा भयो कि त्यसबेलासम्म उनको ९० प्रतिशत बढी फोक्सो ड्यामेज भइसकेको रहेछ । धेरैले माया मारिसकेका थिए सुमितलाई । तर, बैंक व्यवस्थापनको निरन्तरको सान्त्वना, निरन्तर सहयोग, केयरिङका कारण सुमितको मनोबल गिर्न पाएन । यहीकारण २० दिन आइसियूसहित अस्पतालमा कुल ३४ दिन बसेपछि उनको स्वास्थ्यमा चमात्कारिक सुधार भयो । ‘उपचारको क्रममा मलाई १० वटा रेम्डेसिभिर औषधि चलाइएछ, प्लाज्मा थेरापीबाट समेत उपचार गरियो ।’ सुमितले बिजशालासँग भने–‘ती उपचार विधिबाट खासै प्रगति नभए पनि एकाएक मेरो स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले पछि सुनाउनुभयो, सायद बैंकको सपोर्ट र पारिवारिक केयरिङकै कारण ममा मनोबल बलियो बन्दै थियो, त्यही उच्च मनोबलले मैले कोरोनामाथि जित हासिल गरेँ ।’ 

उनले आफूलाई कोरोना संक्रमण भएको कुरा बेनीमा रहेका आफन्तलाई सुनाएनन् । कमजोर स्वास्थ्य अवस्थाकी आमालाई यो खबर सुनाउँदा झनै गाह्रो हुने ठानेर उनी बैंककै व्यवस्थापनमा काठमाण्डौसम्म आइपुगे । ‘म अस्पतालमा बस्दा समेत परिवार नभएको कहिल्यै अनुभूत भएन ।’ उनले भने–‘बैंक व्यवस्थापन र बैंकका साथीहरुले साह्रै राम्रो केयर गर्नुभयो । दैनिक खाना र सूप समेत ओसार्नेजस्तो पारिवारिक केयरिङ सायदै पाइएला ।’

उनले प्रादेशिक म्यानेजर निलम गौतम, मुख्य कार्यालयका विनय रेग्मी, सुनिल खतिवडा र प्रमुख कार्यकारी अधिकृतको निरन्तरको सहयोग, समन्वय र सान्त्वनाले आफूले नयाँ जीवन पाएको बताए । 

‘मलाई धेरैले माया मारिसकेका थिए ।’ उनले थपे–‘तर सबैको सहयोग र सान्त्वनाले म ठीक भएँ, नयाँ जीवन पाएँ । मलाई बैंकले रोजगारी त दिएकै थियो, नयाँ जीवन पनि दियो ।’ 

पोखरा र काठमाण्डौको अस्पताल बसाईका क्रममा उनको उपचारमा करिब २५ लाख खर्च भयो, जुन खर्च सबै बैंकले व्यहोरेको थियो । ‘आज म बैंककै कारण ज्यूँदो छु ।’ उनले भने–‘बैंकले कुनै कुराको टेन्सन नलिनू भनेर काँध थापिदियो, यसले मेरो कन्फिडेन्ट लेभल उच्च बन्यो, बैंक साथमा छ भनेपछि मलाई पनि ढुक्क भयो ।’ 

उनले आफूलाई कोभिड हुँदा सीइओबाटै निरन्तर सान्त्वना प्राप्त भएकोमा खुशी व्यक्त गरे । ‘म जुनियर असिस्टेन्ट लेभलको मान्छेलाई सीइओ सरबाटै फोन आउँदा, व्यवस्थापनका उच्च अधिकारीबाट दैनिक सान्त्वना प्राप्त हुँदा जिउने आधार बन्दो रहेछ ।’ उनले भने–‘सायद म भाग्यमानी रहेछु र आफू कार्यरत संस्थाबाट परिवारकोभन्दा बढी माया पाएँ र त्यसकै बलमा नयाँ जीवन पनि ।’ 

कोरोनाको दोश्रो लहरमा संक्रमित भएका विशालभक्त जोशी पनि बैंकले कोभिडबाट सिर्जित समस्या व्यवस्थापनका लागि बनाएको रणनीतिको प्रशंसा गर्छन् । उनले दुवै डोज खोप लगाएका थिए । बैंकको मुख्य कार्याललयमा एक्टिङ सिनियर म्यानेजरको रुपमा कार्यरत उनलाई कोभिड भएपछि प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतका उच्च व्यवस्थापनबाट फोन गरी दैनिकजसो हालखबर सोध्ने र केयरिङ गर्ने शैलीले मन चोरेको छ ।

‘कोरोना लागेपछि थाहा भयो: राम्रो नेतृत्व, कुशल व्यवस्थापन र राम्रो संस्था कर्मचारीका लागि भरपर्दो अभिभावक हुने रहेछ ।’ जोशीले बिजशालासँग भने–‘बैंकले कोरोना लागेका कुनै पनि कर्मचारीलाई कुनै पनि चिजको अभाव हुन दिएन । त्योभन्दा ठूलो दिनरातको केयरिङ र ढाडस हुँदो रहेछ ।’ 

पछिल्लो समय वित्तीय सूचकमा निकै राम्रो प्रगति गरिरहेको माछापुच्छ्रे बैंकले आफ्नो व्यवस्थापन प्रणालीमा गरेको आमूल सुधार र महामारीको बेलामा कर्मचारीहरुलाई बचाउन अपनाएको रणनीति समेत निकै उत्साहप्रद र प्रेरक देखिएको छ । 

बैंकका १६० शाखामा १५१५ कर्मचारी कार्यरत छन् । यीमध्ये दोश्रो लहर सुरु हुनुपूर्व ४० प्रतिशत कर्मचारीले दुवै डोज र १० प्रतिशत कर्मचारीले सिंगल डोज खोप लगाएका थिए । बाँकी ५० प्रतिशतले अझै पनि खोप लगाएका छैनन् । 

५० प्रतिशतले खोप लगाएकै कारण दोश्रो लहरमा बैंकले कुनै पनि कर्मचारी गुमाउनु परेन । पहिलो लहरमा कुल ३२६ कर्मचारीमा संक्रमण पुष्टि भएकोमा एकजनाको ज्यान गएको थियो । पहिलो लहरबाटै कर्मचारीको स्वास्थ्य सुुरक्षामा ध्यान दिएका कारण धेरैले खोप लगाएका र यसकै कारण दोश्रो लहरमा तुलनात्मक रुपमा कम क्षति भएको बैंकको दाबी छ । 

बैंकको संचालन विभागका नायव महाप्रबन्धक विश्वम्भर न्यौपानेका अनुसार दोश्रो लहरमा हालसम्म १३४ कर्मचारीमा संक्रमण पुष्टि भएकोमा दुईदर्जन हाराहारी कर्मचारी मात्र सक्रिय संक्रमितको रुपमा रहेका छन् । यीमध्ये दोश्रो लहरमा २ जनाको अवस्था केही गम्भीर भई अस्पताल भर्ना गर्नुपर्ने अवस्था बन्यो । 

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै कोरोना संक्रमित कर्मचारीको उपचार खर्च सम्बन्धित संस्थाले नै व्यहोर्नुपर्ने भनेको छ । तर, यो निर्देशनविपरीत कतिपय संस्थाले उपचारखर्च व्यहोर्ने नाममा झारा टारेका विषय बाहिर आइरहेका छन् । कतिपय वित्तीय संस्थाले त कोभिडको संकटपूर्ण समयमै कर्मचारीलाई निश्कासनसम्मको अनुदार काम गरेका छन् । यस्ता विभिन्न खराब समाचारकाबीच कर्मचारीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका सीमित बैंकको सूचीमा माछापुच्छ्रेको नाम पनि दमदार रुपमा समेटिएको छ । 

कसरी गर्छ केयरिङ र व्यवस्थापन ?
न्यौपानेका अनुसार कोभिड संक्रमणबाट पीडित कर्मचारीहरुको पीसीआर टेस्टदेखि व्यवस्थापन तथा उपचार सेवासम्मको जिम्मा बैंकले लिएको छ ।

विशेष गरी एचआर डिपार्टमेन्ट कर्मचारीहरुको दैनिक केयरिङमा खटिने गर्छ । संक्रमित सबै कर्मचारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला आफैंले फोन गरेर ढाडस दिन्छन् । यसले समेत कर्मचारीको मनोबल बढाएको संक्रमित भई निको हुनेहरु बताउँछन । 

कोभिडको बेला आफूहरुले विजिनेशलाई भन्दा स्टाफको सुरक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको न्यौपाने सुनाउँछन् । ‘डेरामा बस्ने कर्मचारीहरुलाई क्वारेन्टिनको व्यवस्थादेखि गम्भीर अवस्थाका बिरामीलाई अस्पताल लैजाने, बेड खोज्ने, अक्सिजन उपलब्ध गराउने लगायतका काम पनि बैंकले नै गरिदिने गरेको छ ।’ न्यौपानेले भने–‘हामीले कोभिडको समयमा सबै कर्मचारीलाई कुनै विदा नकाटी वर्क फ्रम होमको सुविधा समेत दिएका छौं । पीसीआर रिपोर्ट नेगेटिभ नआउँदासम्म विदा नकाट्ने हाम्रो नीति छ।’

बैंकले आन्तरिक रुपमा कोरोनाको संक्रमणबाट बच्न एसएमएस पोलिसीलाई अनिवार्य गरेको छ । जसअन्तर्गत सामाजिक दूरी, अनिवार्य मास्क लगाउनुपर्ने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने विषयमा प्रत्येक कर्मचारीलाई अभ्यस्त बनाइएको उनी बताउँछन् । एसएमएस पालना नगर्ने कर्मचारीहरुलाई सीसीटिभीबाट समेत निगरानी गरी कडाई गरिएका कारण समेत क्षति कम भएको न्यौपाने दाबी गर्छन् । 

कोरोना महामारीको बेला बैंकको काम गर्नुपर्दा, सेवाग्राहीसँग डिल गर्नु पर्दा के गर्ने, के नगर्ने भन्ने विषयका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसेड्यूर नै निर्माण गरी कर्मचारीलाई उपलब्ध गराएको छ । ‘यसलाई हामीले समयसापेक्ष रुपमा परिमार्जन गर्दै गएका छौं ।’ न्यौपानेले भने–‘हामीले गत वर्षको लामो लकडाउन हुँदा समेत टेम्पोरोरी विजिनेश साइटका लागि अलग्गै भवन भाडामा लिएर समेत सेवाग्राहीका काम गर्यौं ।’ 

महामारीको बेला आफूहरुले कस्ट(खर्च)लाई वास्ता नगरी विजिनेशको निरन्तरता र त्योसँगै ग्राहकले बिनाझञ्झट सेवा पाउन् भन्ने विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनी बताउँछन् । 

बैंकले कोभिडपछि सिर्जित समस्या समाधानका लागि पहिलो लहरबाटै क्राइसिस म्यानेजमेन्ट टिम(सिएमटी) बनाएको थियो, जसलाई निरन्तर सक्रिय राखिएको छ । त्यो टिमकै सक्रियताका कारण कोभिडबाट ग्रसित कर्मचारीले समयमै उपचार सेवा र राहात पाएका छन् । 

आपतकालीन अवस्थामा बैंकले क्वीक रेसपोन्स र रेस्क्यू गर्ने नीतिलाई समेत आत्मासाथ गरेको छ । ‘अप्रिय घटना नहोस् भनेर हामीले पर्याप्त पूर्वतयारी गरेका छौं ।’–उनले थपे । 

विज्ञबाट निरन्तर काउन्सिलिङ
माछापुच्छ्रे बैंकले कोरोना संक्रमित कर्मचारीहरुको मनोबल उकास्न र संक्रमण भइसकेपछि उपचारको सही विधिको पालना गराउन डा. लोचन कार्कीलाई हायर गरेको छ । डा. कार्कीले बेला–बेला संक्रमितहरुलाई काउन्सिलिङ गर्ने गरेका छन् । जूमको माध्यमबाट उनले माछापुच्छ्रे बैंकका कर्मचारीको समस्या सुन्ने, उनीहरुलाई काउन्सिलिङ गर्ने गरेका छन् । त्यस्तै कुनै पनि कर्मचारीलाई कुनै अप्ठ्यारो परे डा. कार्कीलाई सोझै सम्पर्क गर्नसक्ने सेवा पनि उपलब्ध गराइएको छ । 

न्यौपाने बैंकले कर्मचारीको मात्र नभई ग्राहकको स्वास्थ्यलाई समेत उत्तिकै ध्यान दिएर काम गरेको दाबी गर्छन् । ‘उदाहरणका लागि यदि कुनै शाखामा १–२ जना कर्मचारीलाई कोभिड देखियो भने त्यो शाखा बन्द गरेर ग्राहकसम्म संक्रमण ट्रान्समिसन हुनबाट रोक्छौं । त्यो शाखा निसंक्रमण गरेपछि मात्र पुनः संचालनमा ल्याउँछौं ।’–उनले भने।