काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पूँजीबजारका लागि उत्साहप्रद मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । 

नेपाल सरकारका नयाँ अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारलाई पनि राजश्व संकलनको भरपर्दो विकल्प बनाउने नीति लिएसँगै राष्ट्रबैंकले पनि सोहीअनुसारको मौद्रिक नीति ल्याउन लागेको हो । 

यसपटकको मौद्रिक नीतिले पूँजीबजार निरुत्साहित हुने गरी कुनै पनि कार्यक्रम नसमेट्ने स्रोतले बताएको छ । 

‘धेरै लगानीकर्ताको मुख्य चिन्ता रहेको मार्जिन कर्जाको सीमा ७० प्रतिशतलाई यथावत राख्ने गरी मौद्रिक नीति आउँछ ।’ राष्ट्रबैंकस्थित उच्च स्रोतले भन्यो–‘विभिन्न क्षेत्रका जागिरेहरुलाई आधारदरमै २५ लाख रुपैयाँसम्मको लोनको व्यवस्था समेत हुँदैछ । यो पैसा पनि सेयर बजारमै आउने हो ।’ 

यस्तै, मौद्रिक नीतिपछि आउने एकीकृत निर्देशनमार्फत विकास बैंक र फाइनान्स कम्पनीमध्ये केही मापदण्ड तोकी सो पूरा गरेकालाई हकप्रद निश्कासनको बाटो खोलिनेछ । यसले समेत बजारलाई राम्रै उचाई प्रदान गर्ने स्रोत दाबी गर्छ । 

‘बिग मर्जरमा समेत सहुलियतहरु राखिएका कारण सवल बैंक बन्दा त्यसले बजारलाई नै सपोर्ट गर्छ ।’ राष्ट्रबैंकका एक अधिकारीले भने–‘समग्रमा यसपटकको मौद्रिक नीतिले पूँजीबजारका लगानीकर्तालाई निराश बनाउनेछैन ।’

पूँजीबजारका ठूला लगानीकर्ताहरुका लागि भने मौद्रिक नीतिले केही कस्ने कार्यक्रम ल्याउनसक्ने अनुमान गरिएको छ ।