काठमाण्डौ । धितोपत्र बोर्डले स्वरोजगार लघुवित्त विकास बैंक र पूर्णिमा विकास बैंकलाई उनीहरुले प्रस्ताव गरेअनुसार हकप्रद निश्कासनको अनुमति दिएको छ । 

बोर्डले स्वरोजगारलाई २ बराबर १(५० प्रतिशत)को अनुपातमा र पूर्णिमालाई ४ बराबर १(२५ प्रतिशत)को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको हो । 

स्वरोजगार लघुवित्तको हकप्रद निश्कासनमो एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । यो लघुवित्त बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ लाख ४९ हजार ९ सय ९३ कित्ता हकप्रद निश्कासन गर्नेछ । यो कम्पनीको हाल चुक्तापुँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी वृद्धि भई १० करोड ४८ लाखको उचाईमा पुुग्नेछ । 

स्वरोजगार लघुवित्त विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड ३ लाख खूद नाफा आर्जन गरेको छ । यो लघुवित्तको अन्तिम सेयर बिक्री मूल्य प्रतिकित्ता २६२० रुपैयाँ रहेको छ । 

यसैगरी, २५ प्रतिशत हकप्रद निश्कासनको अनुमति पाएको पूर्णिमा विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख ८० हजार ९ सय ६२ कित्ता सेयर निश्कासन गर्नेछ । यो बैंकको हकप्रद निश्कासनमा सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७ करोड ५३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी ३५ करोड २३ लाख रुपैयाँ रहेको छ। हकप्रदपछि ४४ करोड ३ लाखको उचाइमा पुुग्नेछ । यो बैंकको अन्तिम सेयर बिक्रीमूल्य प्रतिकित्ता ४२० रुपैयाँ रहेको छ ।