काठमाण्डौ । सन् २००८ पछि तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व बजारमा इरानको तेलको आउन ढिलाइ हुनुका साथै अमेरिका र युरोपेली संघद्वारा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित निर्णयका कारण मूल्य आकाशिएको हो।

इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनस्र्थापना गर्ने प्रयास भइरहेको छ तर अनिश्चितता बढेको छ। रुसले युक्रेनमाथि आक्रमणपछि लगाइएको प्रतिबन्धका कारण इरानसँगको आफ्नो व्यापार प्रभावित नहुने सर्त राखेको छ।

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै चीनले पनि नयाँ सर्त राखेको जनाएको छ। रुसको नयाँ मागलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतवार युक्रेनमा भएको आक्रमणका कारण रुसमाथि लगाइएको प्रतिबन्धलाई इरानसँगको आणविक सम्झौतासँग जोड्नुको कुनै अर्थ नभएको बताएका छन्। 

अर्कोतर्फ अमेरिका र युरोपका सहयोगी राष्ट्रहरुले रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने विकल्पमा विचार गरिरहेका छन्। अमेरिकी विदेशमन्त्रीले रुसी तेलमा प्रतिबन्ध लगाउन ह्वाइट हाउसले कंग्रेसनल कमिटीसँग कुरा गर्ने पनि बताएका छन्। 

रोयटर्सका अनुसार मार्च ७ मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १२९.७८ डलर पुगेको छ। यससँगै अमेरिकी टेक्सास इन्टरमिडिएट (डब्ल्यूआईटी) कच्चा तेलको मूल्य पनि १०.८३ प्रतिशतले बढेर १२६.५१ डलर प्रतिब्यारेल पुगेको छ। यसअघि सन् २००८ मा ब्रेन्ट प्रतिब्यारेल १३९.१३ डलर पुगेको थियो।

थिंक ट्यांक एनर्जी एस्पेक्टका सहसंस्थापक अमृता सेन भन्छिन्, ‘इरान मात्र एउटा कारक थियो, जसका कारण तेलको मूल्यलाई नियन्त्रणमा राख्न सकिन्थ्यो तर परमाणु सम्झौतामा ढिलाइ भइरहेको छ। यदि रुसी तेल पनि बजारबाट बाहिर रह्यो भने अवस्था झन् बिग्रन सक्छ।’

विश्लेषकहरुले यो साता तेलको मूल्य प्रतिब्यारेल १८५ डलर पुग्न सक्ने अनुमान गरेका छन्। 

एस एन्ड पी ग्लोबलका उपप्रमुख र लेखक ड्यानियल येर्गिनले रोयटर्सलाई भने, ‘अत्यावश्यक वस्तुका रुपमा रहेको तेल र ग्यासमा प्रतिबन्ध नगर्ने कुरा भएको थियो तर निजी कम्पनीहरुले आफैँले तेल किन्न रोक्छन् र यसले सम्पूर्ण आपूर्ति शृंखलालाई असर गर्छ।’

रुसले प्रतिखिदन करिब ७० लाख ब्यारेल तेल निर्यात गर्छ। विश्वको तेल आपूर्तिमा रुसको हिस्सा ७ प्रतिशत रहेको छ। 

रुसी बन्दरगाहबाट कजाकिस्तानको तेल पनि निकासी हुने गरेको छ र यो पनि तनावका कारण प्रभावित भएको छ।

बैंक अफ अमेरिकाका विश्लेषकहरु रुसको अधिकांश तेल निर्यात रोकिएको बताउँछन्। ‘यसले प्रतिदिन ५० लाख ब्यारेलको गिरावट आउन सक्छ’, उनीहरु भन्छन्, ‘यसको मतलब कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्छ।’ –एजेन्सी