काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध अमेरिका र पश्चिम देशहरुले विभिन्न आर्थिक प्रतिबन्धहरु लगाएका छन्। 

अमेरिकाले तेल र ग्यास खरिदमा प्रतिबन्ध लगाएको छ। अन्य १०० भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरुले रुसमा आफ्नो कारोबार बन्द गरेका छन्। जसमा बोइङ, एयरबस, फेसबुक, गुगलजस्ता कम्पनीहरु समावेश छन्। 

आर्थिक प्रतिबन्धहरुको सामना गरिरहेको रुसले जबाफ कारबाही गर्ने योजना बनाएको छ। त्यस्ता कम्पनीहरु कारखाना जफत गर्ने र सम्पत्ति राष्ट्रियकरण गर्ने तयारी रुसले गरेको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीका जनरल काउन्सिलका सेक्रेटरी आन्द्रेई तुर्चकले दुई दिनअघि रुसमा बन्द गरिएको कम्पनीहरुको कारखाना र सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने बताएका थिए। यसो गरिएमा जनताको रोजगारी पनि जोगिने र रुस घरेलुस्तरमै सामान बनाउन सक्षम हुने उनको तर्क थियो।

तुर्चकको यो निर्णय निकै आक्रमक मानिएको छ। ‘हामी रुसी जनताको सुरक्षा गर्न आवश्यक छ’, तुर्चकले भनेका छन्, ‘आर्थिक प्रतिबन्धको यो लडाइँ रुसविरुद्धमात्रै सीमित छैन, यो रुसी जनताविरुद्धको लडाइँ पनि हो’, उनले भने, ‘त्यसैले हामीले जबाफी कारबाही गर्नैपर्छ। 

तुर्चकको यो अभिव्यक्तिपछि रुसी मिडियाहरुले एयरबस र बोइङको एयरक्राफ्ट राष्ट्रियकरण गर्ने योजनामा रुस सरकार रहेको जनाएका छन्। यी दुवै कम्पनीका विमानहरु अहिले रुसी विमान कम्पनीहरुले भाडा सञ्चालन गर्दै आएका छन्। – एजेन्सी