काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन्। 

ललितपुर उद्योग बाणिज्य संघको ५५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताएका हुन्। ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ। अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायीअनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’, उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी राख्न हुँदैन पनि भनेको छु।’ 

शर्माले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए।

शर्माले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य शृंखलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै विस्तारै सुधार भइरहेको बताए। ‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ। हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौँ’, उनले भने। 

शर्माले ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कुल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने दाबी पनि गरे।