काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य भएको वृद्धिले विद्युतीय सवारीसाधनको उत्पादन प्रभावित बनेको छ। 

सस्तो मूल्यमा विद्युतीय सवारीसाधन उपलब्ध गराउने टेस्लाको सीईओ एलन मस्क र अन्य अटो निर्माताहरुको सपनामा रुस–युक्रेन युद्धले धक्का पुर्याउने देखिएको हो। युद्धको प्रभावस्वरुप निकेल, लिथियम र अन्य निर्माण सामग्रीको मूल्यमा भइरहेको मूल्यवृद्धिले ब्याट्रीको लागत घट्ने दीर्घकालीन प्रवृत्तिलाई सुस्त बनाउनुका साथै अस्थायी रुपमा उल्टाउन सक्ने जनाइएको छ। विद्युतीय सवारीसाधनको निर्माणमा ब्याट्री सबैभन्दा महँगो हुने गर्छ। 

कोरोना महामारी र चीप अभावको समस्याले ग्रस्त रहेका बेला कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले विद्युतीय सवारीसाधन निर्माणमा ढिलाइ हुने सम्भावना रहेको र यसले विश्व जगतले विद्युतीय सवारी अपनाउने प्रक्रियामा अवरोध उत्पन्न गर्ने जनाइएको छ। 

युक्रेन विवादका कारण निकेलको मूल्य ११ वर्षयताकै उच्च बिन्दुमा पुग्ने भय उत्पन्न भएको छ। रुस निकेलको अग्रेणी निर्यातकर्ता देश भएका कारण आपूर्तिमा समस्या देखिदा यसको मूल्य वृद्धि हुने अनुमान गरिएको छ। 

रुसले विश्वमा उत्खनन हुने निकेलको करिब ७ प्रतिशत उत्पादन गर्ने गर्छ। यसका साथै रुस अल्मुनियम र प्यालेडियमको ठूलो उत्पादनकर्ता हो। 

यस्तै लिथियमको मूल्य पनि गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ। 

कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले विद्युतीय सवारीसाधनको बिक्रीमा प्रभाव पार्ने देखिन्छ। इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार विश्वभर गत वर्ष बिक्री भएका कुल सवारीसाधनमा विद्युतीय सवारीको हिस्सा ९ प्रतिशत रहेको थियो। यो हिस्सा सन् २०३० सम्म २४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। तर, वर्तमान अवस्थाले यो प्रक्षेपणसमेत प्रभावित हुने देखिएको छ। –एजेन्सी