काठमाण्डौ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकामा भोकमरीको कालो बादल मडारिएको छ।

श्रीलंकाका एक शीर्ष राजनीतिज्ञ तथा सांसद महिन्द्रा यापा अभेबार्दनाले अहिलेको अवस्था सुरुआतमात्रै भएको र देशले चाँडै नै भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्। 

करिब २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकट चुलिएसँगै खाद्यान्नको अभाव देखिएको अभेबार्दनाले बताएका छन्। ‘खाद्यान्न, ग्यास र विद्युत अभावको अवस्था बिग्रिँदो क्रममा छ। चाँडै नै देशमा खाद्यान्नको चरम अभाव र भोकमरी देखिनेछ’, उनले संसद्मा भने। 

श्रीलंकाको मुद्रा विश्वको सबैभन्दा खराब मुद्राको सूचीमा परेपछि बुधबार श्रीलंकाको आर्थिक संकट थप गहिरिएको छ। सरकारी डलर बोन्डको व्यापार निम्न बिन्दुमा झरेको छ भने सेयर बजार पनि २ प्रतिशतको गिरावट आएको छ। 

विगत केही महिनादेखि श्रीलंकाले विभिन्न क्षेत्रमा आर्थिक संकटको सामना गरिरहनुपरेको छ। कोरोना महामारी, बढ्दो वैदेशिक ऋण र राष्ट्रपति गोटाभाया राजापक्षेको असक्षमताले श्रीलंकामा महँगी तथा गहिरो आर्थिक संकटको खाडलमा धकेलिएको छ। 

श्रीलंकाको वैदेशिक मुद्राको ढुकुटी रित्तिएको छ। परिणामस्वरुप देशमा ग्यास, तेल, खाद्यान्न र विद्युतको चरम अभाव सिर्जना भएको छ। 

यसैबीच भारत सरकारले श्रीलंकाको सहयोगका लागि ७६ हजार टन तेल पठाएको छ। भारतले अहिलेसम्म श्रीलंकालाई २ लाख ७० हजार टन तेल सहयोग गरिसकेको छ। –एजेन्सी