काठमाण्डौ । अर्थतन्त्रमा ‘ओभरनाइट सुधार’को अपेक्षा तत्काल पूरा नहुने भएको छ । अर्थतन्त्रको आन्तरिक तथा बाह्य पक्ष थप डामाडोल बनेको नेपाल राष्ट्रबैंकको पछिल्लो तथ्याङ्कले पुनः पुष्टि गरेसँगै अवस्था थप जटिल हुनसक्ने संभावना बढेको छ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको प्रथम ८ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा सार्वजनिक गरेको छ । यो समीक्षाले अर्थतन्त्रको अवस्था सुधार हुनुको साटो थप बिग्रदै गएको देखिएको छ । तथ्यहरु अवस्था सम्हालिनै नसकिने गरी भयावह हुने हो कि भन्ने आशंका जन्माउन काविल  देखिएका छन् । 

पहिलो ८ महिनासम्मको देशको आर्थिक तथा वित्तीय परिदृश्य कस्ता छन् त ? हेरौं मुख्य सूचकहरुको पछिल्लो अवस्था:

मुद्रास्फिति
मुद्रास्फिति भयावह रुपमा बढेको तथ्यहरुले देखाएका छन् । गत आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिको मुद्रास्फिति सतप्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । यसबाट समेत कम आय हुनेहरुको अवस्था कति दयनीय बनिरहेको छ भन्ने देखाउँछ । 

२०७८ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ । 

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.३० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.०४ प्रतिशत, १२.९९ प्रतिशत र ७.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २४.२४ प्रतिशत रहेको छ ।

डामाडोल वैदेशिक व्यापार
आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु.१४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ । 

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो ( पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । ड। आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई रु.१३०८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रु.११६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १४७ अर्ब ३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १२१ अर्ब ३६ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु.६७ अर्ब २ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.४३ अर्ब ३६ करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २२४.४ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४ अर्ब ४७ करोड रहेको थियो । 

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १०६.२ प्रतिशतले वृद्धि भई रु.४६ अर्ब ८५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.३० अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२२ अर्ब ७१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.१८ अर्ब ४१ करोड रहेको थियो ।

रेमिटान्स घट्यो, विदेश जाने बढे
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई रु.६३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,२७,९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १,७८,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । 

चालु खाता र शोधानान्तर घाटा भयावह
समीक्षा अवधिमा चालु खाता रु.४६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६०.० प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १८ करोड रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

विदेशी विनिमय सञ्चिती दयनीय अवस्थामा
२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा रु.११७१ अर्ब कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ । 

आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहेको छ । २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।