काठमाण्डौ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सोही बैंकका संस्थापक सीइओ सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । 

कुमारी बैंकको जेठ १९ गते बसेको संचालक समिति बैठकले सिद्धार्थ बैंकको सीइओको रुपमा रहेका भण्डारीलाई आफ्नो बैंकको सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । कुमारी बैंकमा कामुु सीइओको रुपमा राजीव गिरीले काम गरिरहेका थिए । 

बैंकर भण्डारीको सीइओको करिअर कुमारी बैंकबाटै सुरु भएको थियो । उनी कुमारी बैंकका संस्थापक सीइओ हुन् । 

नबील बैंकबाट बैकिंग करिअर सुरु गरेका भण्डारी त्यहाँ महाप्रबन्धकसम्मको जिम्मेवारीमा रहे । गत असारमा मात्र सिद्धार्थ बैंकले ४ वर्षका लागि उनको कार्यकाल थप गरे पनि बाफियाको प्रावधानले २ कार्यकाल भन्दा बढी काम गर्न रोकेपछि राष्ट्रबैंकले संचालक समितिलाई कानून किन नमानेको भन्दै स्पष्टीकरण सोधेको थियो । संचालक समितिले स्पष्टीकरण नपठाउँदै भण्डारी सिद्धार्थमा राजीनामा गरी पुरानै घर कुमारी बैंकमा फर्किएका हुन् । 

भण्डारीले दिल्ली युनिभरसिटीबाट एमबिए गरेका छन् भने उनी विगत १७ वर्षदेखि लगातार विभिन्न बैंकको सीइओको रुपमा कार्यरत छन् । 

कुमारी बैंक एनसीसी लगायतका बैंकहरुसँगको मर्जरबाट अलग्गिएपछि अन्य केही बैंकलाई गाभेर चुक्तापुँजी पुर्याउने अभियानमा छ । यो बैंकले हाल काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । यी चार संस्थालाई आफूमा गाभेर कुमारीले आगामी असार १५ गतेदेखि एकीकृत बित्तीय कारोबार थाल्ने तयारी गरिरहेको छ ।