काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ। 
कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरुको प्रशंसा गरे। उनले अभिकर्ताहरुको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताए। 

कार्यक्रममा देशभरका १ हजार ३४५ सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको थियो। 

सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ८ अर्ब २१ करोड रहेको छ भने लगानी रु. १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। त्यस्तै कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ। 

२ लाख ३ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि हालसम्म देशभर फैलिएका २०२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

नेसनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरुका लागि व्यापार लक्ष्यसहितको स्कीम ल्याउने जानकारी गराए। 

नेसनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवाद ज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति कम्पनीमा बीमित भइसकेका र ग्राहकको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना, सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए। यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो।