काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइन्सेन्स दिन माग गरेको छ। 

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले राष्ट्र बैंकलाई पठाइएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरुका विषयमा जानकारी गराएको थियो। सिबिफिनले पठाएको तिनै २७ बुँदे सुझावमा बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिने विशेष व्यवस्था गर्न माग गरेको छ। 

सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्नेको औचित्य र कारण पनि प्रस्ट पारेको छ। देशैभरि छरिएर रहेका बैंकहरुका शाखा कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्थाहरुले ग्रामीण इलाका एवं दूरदराजका स्थानीयहरुको सिरानी वा पटुवामा असुरक्षित रुपमा राखिएको रकम संकलनसहित उक्त रकमलाई लगानीमा परिणत गर्न पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सिबिफिनको भनाइ छ। 

बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिँदा वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुग्ने र पुँजीबजारको विकास एवं विस्तार गर्न सहयोग पुग्ने सिबिफिनको विश्वास छ।