काठमाण्डौ । सुदूरपश्चिमस्थित धनगढीका उद्योगी–व्यवसायीहरु पनि बैंकको चर्को ब्याजदरलगायतका विरुद्धमा आन्दोलनमा उत्रिएका छन्। 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज उद्योगीव्यवसायीले शान्तिपूर्ण विरोध र्‍याली निकालेका हुन्। बैंकको ऋणको ब्याजदरमा भएको वृद्धि, चालु पुँजीकर्जा मार्गदर्शन २०७९ र राष्ट्र बैंकका नीति–नियमविरुद्धमा उनीहरुले धनगढी चौराहा चोकदेखि नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयसम्म प्लेकार्डसहितको र्‍याली निकालेका हुन्।

‘हामी आफ्नो पेट पाल्ने कि बैंकका...?’, ‘चालु पुँजी कर्जा स्थगित गर’, ‘बैंकको आतंक बन्द गर’, ‘व्यवसायीले के गर्ने...? सरकारले नि नटेर्ने’लगायतका प्लेकार्ड बोकेर व्यवसायीले विरोधमा उत्रिएका हुन्। 

विरोध कार्यकममा कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसमेत सहभागिता थियो। उनीहरुले कर्जाको ब्याजदरमा एकल अंक कायम गर्नुपर्ने, विगतको चालु पुँजी कर्जा निर्देशिका यथावत राखेर क्रमिक रुपमा लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै राष्ट्र बैंक धनगढीमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्रसमेत पठाएका छन्।

हाल देशभरका उद्योगी–व्यवसायी बैंकविरुद्ध आन्दोलन गरिरहेका छन्।