काठमाण्डौ । सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्ने नेपाल राष्ट्रबैंकले विश्वभर देखिएको आर्थिक मन्दी र सकसका बाबजुद नेपालको वास्तविक क्षेत्रको अवस्था सन्तोषप्रद रहेको विश्लेषण गरेको छ । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने क्रममा केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो । 

'नेपालको उत्पादन क्षमतालाई दृष्टिगत गर्दा आर्थिक वर्ष २०७९-८० को दोश्रो त्रयमाससम्म आर्थिक गतिविधिहरु सन्तोषप्रद रहेका छन् । मौसमी अनुकूलताका साथै रासायनिक मलको उपलव्धताका कारण समग्रमा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न गएको छ ।' विश्लेषणमा भनिएको छ-'विद्युत उत्पादन वृद्धि हुँदै गएको छ । महामारीको असर कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ भने विप्रेषण आप्रवाह सन्तोषप्रद रहेको छ । विदेशी पर्यटककोआगमन संख्यामा सुधार भई पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग पुगेको छ ।' 

राष्ट्रबैंकले समष्टिगत माग विस्तारमा कमी आएका कारण केही उद्योग व्यवसायहरु प्रभावित भए पनि बाह्य क्षेत्रमा परेको चाप कम हुँदै गएकाले तरलताको स्थितिमा क्रमशः सुधार आएको प्रष्ट्याएको छ । 'ब्याजदर घट्न शुरु भएको छ । यसले गर्दा आर्थिक गतिविधिहरु विस्तार गर्न सहयोग पुग्ने देखिन्छ ।' केन्द्रीय बैंकले भनेको छ-'संघ, प्रदेश तथा स्थानीय तीनै तहमा निर्वाचनपश्चात् नयाँ सरकारहरु गठन भएका छन्। पुँजीगत खर्च बढ्ने क्रममा रहेको छ । नेपाल सरकारको नीतिगत प्राथमिकताहरु सार्वजनिक भएका छन्। तीनै तहका सरकारको समन्वय र सक्रियताबाट अर्थतन्त्रका संरचनात्मक समस्या क्रमशः समाधान हुँदै उत्पादनशील अर्थतन्त्र निर्माण भई आर्थिक वृद्धि औसतभन्दा माथि हासिल हुन सहयोग पुग्ने अपेक्षा रहेको छ ।' 

२०७९ पुस मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा आयात मूल्य सूचकाङ्क ८.७ प्रतिशतले बढेको छ भनेतलब सूचकाङ्क १२.३९ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.६४ प्रतिशतले वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र नेपाली रुपैयाँको अवमूल्यनका कारण आयातीत वस्तुहरुको मूल्य बढ्न गई उपभोक्ता मूल्यमा चाप पर्न गएको छ । बाह्य तथा आन्तरिक आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चापमा कमी आउन अझै केही समय लाग्ने केन्द्रीय बैंकको प्रक्षेपण छ ।

'२०७९ पुस महिनामा गरिएको मूल्य अपेक्षासम्वन्धी सर्वेक्षणमा सर्वसाधारणको मूल्य वृद्धिप्रतिको अपेक्षा क्रमशः घट्दै गएको देखिएको छ ।' अगाडि भनिएको छ-'यस तथ्यबाट यस बैंकले लिएको नीतिगत कार्यदिशाका कारण सर्वसाधारणको मूल्यप्रतिको अपेक्षामा अंकुश लाग्न सहयोग पुगेको संकेत गरेको छ ।'