काठमाण्डौ । अमेरिकी फर्म हिन्डनबर्गको प्रतिवेदनका कारण सेयरमा आएको गिरावटपछि अडानी समूह लगानीकर्ताको विश्वास जित्ने प्रयासमा छ।

अडानी समूहले हिन्डनबर्ग रिसर्चको दाबीलाई गलत साबित गर्नका लागि आफ्ना केही कम्पनीहरुको स्वतन्त्र लेखापरीक्षणका लागि लेखा फर्म ग्रान्ट थोरन्टनलाई नियुक्त गरेको छ। गत २४ जनवरीमा आएको हिन्डनबर्ग रिपोर्टपछि अडानी समूहले आफ्नो बचाउ गर्न पहिलो ठूलो प्रयास गरेको छ। हिन्डनबर्गको प्रतिवेदनका कारण अडानी समूहको सेयरभाउ यति धेरै तल आएको छ कि कम्पनीहरुको बजार पुँजीकरण ५० प्रतिशतभन्दा बढीले घटेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अडानी समूहले गत हप्ता भनेको थियो कि उसले हिन्डनबर्ग रिपोर्टपछि कानुनी अनुपालन, सम्बन्धित लेनदेन र आन्तरिक नियन्त्रणसम्बन्धी मामिलाहरुमा स्वतन्त्र मूल्यांकन गर्नेबारे विचार गरिरहेको छ। त्यतिबेला ग्रान्ट थोरन्टनको नियुक्तिको खबर पहिलोपटक सार्वजनिक भएको थियो। 

अडानी समूहका केही कम्पनीको स्वतन्त्र लेखापरीक्षणको जिम्मेवारी ग्रान्ट थोरन्टनलाई दिइएको र यो नियुक्ति गोप्य रहेको स्रोतले जनाएको छ।

एउटा स्रोतले भन्यो कि ग्रान्ट थोरन्टनले अडानी समूहमा सम्बन्धित–पार्टी लेनदेनहरु कर्पोरेट गभर्नेन्स मापदण्डहरुअनुरुप छन् कि छैनन् भनेर अनुसन्धान गर्नेछन्। यद्यपि ग्रान्ट थोरन्टन र अडानी समूहले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। हिन्डनबर्गको रिपोर्ट जनवरी २४ मा प्रकाशित भएको थियो। त्यसपछि फेब्रुअरी १३ सम्म अडानी समूहको सेयरको बजार पुँजीकरण ५३ प्रतिशतले घटेको छ। अडानी समूहका १० कम्पनी सेयर बजारमा सूचीकृत छन्।

बजार नियामक सुरक्षा र विनिमय बोर्ड (सेबी) ले अडानी समूहको २० हजार करोडको फलो–अन पब्लिक अफर (एफपीओ) को अनुसन्धानका बारेमा अपडेट दिनका लागि फेब्रुअरी १५ मा वित्त मन्त्री निर्मला सीतारमणलाई भेट्नेछ।

सेबी बोर्डले अडानी समूहको सेयरमा हालै आएको गिरावटको समयमा नियामकले गरेको निगरानीका बारेमा वित्तमन्त्रीलाई जानकारी दिनेछ। सेबीले अडानी समूहको सेयर बजार रुटको गहिरो अनुसन्धान गरिरहेको छ। यसले अडानी समूहको व्यापार ढाँचा, रद्द गरिएको एफपीओ र समूहको अफसोर कोषमा अनियमितताको जाँच गरिरहेको छ।

हिन्डनबर्गले आफ्नो प्रतिवेदनमा अडानी समूहका सूचीकृत सात कम्पनी ओभरभ्यालुएड भएको दाबी गरेको छ। प्रतिवेदनले यो पनि दाबी गरेको छ कि अडानी समूह दशकौँदेखि स्टक हेरफेर र मनी लान्ड्रिङमा संलग्न छ। यसको जबाफमा अडानी समूहले हिन्डनबर्गलाई प्रतिलिपि–पेस्ट गरेको आरोप लगायो। समूहले भनेका थिए कि या त हिन्डनबर्गले राम्रोसँग अनुसन्धान नगरेको वा जनतालाई भ्रमित गर्न गलत तथ्यहरु प्रस्तुत गरेको थियो। –एजेन्सी