nepal rastra bank
काठमाण्डौ । उद्योगी व्यवसायीले बैंक ब्याजदर एकल अंकमा झर्नुपर्ने आवाज चर्काइरहेका छन् । सोही विषयलाई लिएर बेला–बेला सडक प्रदर्शन र विरोध जुलुसहरु पनि भइरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने निकाय नेपाल राष्ट्रबैंक भने आफैंले ११.५० प्रतिशतको ब्याज अफर गर्दै ऋण उठाउने तरखरमा जुटेको छ ।
हाल देशका वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्दा वार्षिक ११ प्रतिशतसम्म ब्याज अफर गर्ने गर्छन् । तर नेपाल राष्ट्रबैंकले भने त्यसभन्दा पनि माथि उक्लिएर ११.५० प्रतिशत वार्षिक ब्याजदर अफर गर्दै सर्वसाधारणबाट पैसा उठाउने उद्देश्यले ऋणपत्र निश्कासन गर्ने तयारी थालेको छ ।
राष्ट्रबैंकले ‘नागरिक बचतपत्र २०८४ क(५ वर्षे)’ नामको ऋणपत्र फागुन १० गतेदेखि निश्कासन गर्दैछ । फागुन ३० गतेसम्म खरीदका लागि आवेदन दिन सकिने ऋणपत्रको आकार २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
वार्षिक ब्याजदर ११.५० प्रतिशत(ब्याजकर लाग्ने) कायम गरिएको यो लगानी उपकरणमा लगानी गर्नेले प्रत्येक ६ महिनामा ब्याजको भुक्तानी पाउनेछ । ६ महिनामै ब्याज पाइने हुनाले वार्षिक रिटर्न ११.५० प्रतिशतभन्दा बढी हुन आउँछ ।
घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निश्कासित रकमको सीमामा नबढाई रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा खरीद गर्न सकिनेछ ।
यो उपकरणका इकाईहरु नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन समेत सकिनेछ । यसर्थ ५ वर्ष अवधिका लागि आफूसँग भएको रकम एकमुष्ट लगानी गरेपछि भोलि कुनै इमेरजेन्सी परे यिनै बचतपत्रका इकाई धितोमा राखी ऋण निकालेर आफ्नो गर्जो टार्न सकिन्छ ।
यो बचतपत्रको निश्कासन मिति आगामी चैत ६ गते तोकिएको छ भने साँवा भुक्तानी मिति २०८४ चैत ६ गतेलाई तोकिएको छ ।
इच्छुकले अनलाइनबाट वा नेपाल राष्ट्रबैंकको वेबसाइटमा गएर नागरिक बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
यो बचतपत्र खरीद गरिसकेपछि स्टक वा प्रमिशरी नोटको रुपमा लिन सकिने विकल्प राखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago