काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार (फागुन २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कम्पनीको चुक्तापुँजी कुल ३.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश छन्।

सभाले कम्पनीको अधिकृत जारी तथा चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँबाट वृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १३४ रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले सञ्चालक समितिबाट समूह (क) र (ख)अन्तर्गत रिक्त दुई सञ्चालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्नेछ। 
सभामा वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।