काठमाण्डौ । भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का पूर्वगभर्नर रघुराम राजनले विश्वमा आगामी दिनमा बैंकिङ संकट अझै गहिरिने चेतावनी दिएका छन्। 

भर्खरै अमेरिकाका दुई ठूला बैंक डुब्यो र युरोपको अग्रणी बैंक क्रेडिट सुइस बिक्री भयो। राजनले एक दशकदेखि केन्द्रीय बैंकहरुलाई सहज मुद्रा र ठूलो तरलताको लत लागेको बताए। ‘अहिले उनीहरुले वित्तीय प्रणालीमा संकट सिर्जना गर्ने नीतिलाई कडाइ गरिरहेका छन्’, उनले भने। 

राजन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुख अर्थशास्त्री पनि भइसकेका छन्। हाल युनिभर्सिटी अफ शिकागो बुथ स्कुल अफ बिजनेसमा अध्यापन गर्दै आएका राजन २०१३ देखि २०१६ सम्म आरबीआई गभर्नर थिए।

ब्लुमबर्गको एउटा रिपोर्टका अनुसार राजनले भनेका छन्, ‘म राम्रो अवस्थाको आशा गर्छु तर आगामी दिनमा बैंकिङ संकट गहिरो हुन सक्छ। समस्या यो हो कि सजिलो पैसा र लामो समयको उच्च तरलताले एउटा संरचना सिर्जना गर्दछ, जसले पुनरागमन गर्न गाह्रो बनाउँछ।’

सिलिकन भ्याली बैंक र क्रेडिट सुइस विश्वव्यापी वित्तीय प्रणालीमा समस्याहरुको संकेत रहेको राजन बताउँछन्। आईएमएफका प्रमुख अर्थशास्त्रीका रुपमा राजनले सन् २००८ मा ग्लोबल फाइनान्सियल क्राइसिसको भविष्यवाणी गरिसकेका थिए। 

राजनले सन् २००५ मा ‘ज्याक्सन होल स्पिच’मा बैंकिङ क्षेत्रमा संकटको चेतावनी दिएका थिए। त्यसपछि अमेरिकी ट्रेजरी सेक्रेटरी ल्यारी समर्सले उनको खिल्ली उडाएका थिए।

राजनले केन्द्रीय बैंकहरुलाई सरकारले फ्री राइड दिएको बताए। ‘उनीहरुले २००८ को वित्तीय संकटपछिको दशकमा चालेका कदमहरुलाई द्रुत गतिमा उल्टाउँदैछन्’, उनले भने, ‘मौद्रिक नीतिको प्रभाव धेरै उच्च छ। केन्द्रीय बैंकहरुले प्रणालीमा तरलताले भरिदिएपछि बैंकहरुमा समस्या बढेको हो।’

केन्द्रीय बैंकहरुले वित्तीय प्रणालीलाई तरलताको लत लगाइदिएको राजनको भनाइ छ। ‘सिस्टममा लो रिटर्न लिक्विड एसेट्सको बाढी नै ल्याए’, उनले भने, ‘अहिले बैंकहरुले धेरै भयो भनिरहेका छन्। हामी यसलाई के गर्ने ? मार्चमा अमेरिकी बैंकहरुबाट ४०० अर्ब डलर निकासी भएको थियो।’ –एजेन्सी