काठमाण्डौ । माघदेखि केही घटिरहेको निक्षेपको ब्याजदर तथा बैंकहरुले घटाएका प्रिमियमको अधिकतम सीमा लगायतका कारणले बैशाख १ गतेदेखि पुराना कर्जाको ब्याजदर पनि घट्ने सर्वत्र आशा छ।

बैंकको ब्याजदर घटाउनुपर्ने दवाब पनि उस्तै छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म ब्याजदर घटाएर ऋणिलाई राहात दिने तथा सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउने पक्षमा छन् । तर, राष्ट्रबैंकको नेतृत्व भने ब्याजदर तत्काल धेरै घटाइहाल्ने पक्षमा देखिएको छैन । ब्याजदर बजारले निर्धारण गर्ने भन्दै उनले पुरानै रटान लगाइरहेको छ । तथापि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मको दवाबका कारण ऋणिहरुलाई केही न केही राहात दिनुपर्ने गरी निर्णय गर्ने अवस्थामा केन्द्रीय बैंक नेतृत्व रहेको देखिन्छ । त्यसो भए ब्याजदर घट्दैछ ? हो भने कतिले घट्ला ? 

यी सबै चासो तथा जिज्ञासाको समाधान अबको केही घण्टाभित्रै हुने भएको छ । 

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले आज बिहान ९ः३० बजे फूलहाउस बैठक डाकेको छ । यही बैठकले ब्याजदरको विषयमा महत्वपूर्ण निर्णय गर्नेछ । 

एनबीएका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार फूल हाउस बैठक भनेर सबै बैंकका सीइओहरुलाई डाकिएको छ । यही बैठकमा ब्याजदर घटाएर जाने या यथावत राख्ने भन्ने विषयमा निर्णय हुनेछ । 

वाणिज्य बैंकका सीइओहरुको यो बैठकलाई विकास बैंक र वित्त कम्पनीका सीइओहरुले पनि चासोका साथ पर्खिरहेका छन् । कारण, एनबीएको निर्णयका आधारमा उनीहरुले पनि ब्याजदर घटाउने वा यथावत राख्ने निर्णय गर्नेछन् । 

विकास बैंकका सीइओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका सीइओ बोधराज देवकोटाका अनुसार एनबीएको निर्णयका आधारमा आफूहरुले पनि आवश्यक निर्णय गर्ने बताए । उनले ब्याजदरमा पुराना ऋणिहरुलाई पनि केही न केही राहात दिएरै जानुपर्ने अवस्था रहेको बताए । 'सरकारको चासोदेखि ऋणिहरुको माग तथा चिन्ता लगायतलाई सम्बोधन गर्न पनि केही न केही राहात दिएरै जानुपर्ने अवस्था छ ।' देवकोटाले बिजशालासँग भने-'हामी पनि एनबीएको निर्णय कुरिरहेका छौं ।' 

एक बैंकका सञ्चालक समितिका अध्यक्षले बिजशालासँग कुरा गर्दै ब्याजदर घटाएर जाने आफूहरुबीच सहमति भएको र सोहीअनुसार सीइओहरुलाई निर्देशन दिइएको जानकारी दिए । 'ब्याजदर बढाएर बैंकहरुलाई केही पनि हुने होइन । स्प्रेडदर उही हो । त्यसकारण सबैको चासो र समयको मागलाई सम्बोधन गर्नलाई पनि ब्याजदर घटाएरै जानुपर्ने अवस्था छ ।' ती अध्यक्षले भने-' हामीले सोहीअनुसार सीइओहरुलाई भनेका छौं । एनबीएको बैठकले ब्याजदर घटाउने निर्णय गर्ने हाम्रो बुझाई हो । केही सीइओहरुको त्यसमा असहमति भए पनि अधिकांशले ब्याजदर घटाएर जाने निर्णय गर्नेछन् ।'