काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा लगातार गिरावट आइरहेको छ। 

अघिल्लो साता सुन प्रतिऔँस २ हजार डलरभन्दा माथि कारोबार भएको थियो। सुनमा अघिल्लो साताको बढोत्तरी भने यो साता टिक्न सकेको छैन। 

आज यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ११ डलरले गिरावट आएर १८८९ डलरमा कारोबार भइरहेको छ। नेपालमा एक औँसबराबर साढे २ तोला हुने गर्छ। 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अमेरिकी फेडरल रिजर्भ (फेड)को आउँदै गरेको मौद्रिक नीतिमा सुनसम्बन्धी केही कडा नीति अबलम्बर गर्न सक्ने  कारण सुनको मूल्यमा गिरावट आएको जनाएका छन्। अमेरिकी कमोडिटिज बजारका एक अध्ययनकर्ता पिटरले अमेरिकामा आउँदै गरेको आर्थिक मन्दीको कारण पनि सुनको मूल्यमा गिरावट आइरहेको बताएका छन्। 

उता युरोपेली सेयर बजारमा पनि गिरावट आएको छ। 

यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स, फ्रान्सको क्याक, बेलायतको फुट्सी, इटालीको फुट्सी मिबमा करेक्सन आएको छ। एसियाली बजारमा पनि गिरावट आएको छ भने भारतको सेन्सेक्स भने आज पुनः ६० हजार १३० भन्दा  माथि कारोबार भएर बन्द भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोमा भने सामान्य उतारचढाव देखिएको छ। विट्क्वाइन ३० हजार डलर माथि पुगेपछि गिरावट आउन थालेको छ। अहिले बिट्क्वाइन २७ हजार ३९० डलरमा कारोबार भइरहेको छ। –एजेन्सी