काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरको होटेल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन पनि सभाले गर्नेछ। 

कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक संशोधन र फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।