काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा केही माइक्रोफाइनान्सहरुले कमालको प्रगति हासिल गरेका छन् । उनीहरुको नाफालाई हेर्ने हो भने कतिपय वाणिज्य बैंक समेत पछाडि पर्ने देखिन्छ । ठूला बैंकहरुलाई टक्कर दिने गरी बिहीबार बित्तीय विवरण सार्वजनिक गर्ने माइक्रोफाइनान्स मध्ये स्वावलम्बन लघुवित्त विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर पनि हुन् । यी दुवै माइक्रोफाइनान्सले कतिपय बैंकलाई समेत टक्कर दिने गरी नाफा कमाएका छन् । तर, एउटा माइक्रोफाइनान्सको नाफा चाहि अघिल्लो वर्ष भन्दा ७ करोड भन्दा बढी घटेको छ । 

काठमाण्डौको बालुवाटारमा मुख्य कार्यालय रहेको स्वावलम्बन लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २५ करोड बढी खूद नाफा आर्जन गरेको छ । तर, यो वर्षको नाफा अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्ष त यो कम्पनीले ३२ करोड ३२ लाख नाफा कमाएको थियो ।  
यो माइक्रोफाइनान्स कम्पनीले ९३ करोड ५० लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८७ करोड ३५ लाखमा सीमित थियो । 

यस्तै, स्वालम्बनले यो अवधिमा ४ अर्ब ३ करोड सापटी लिई तथा ४ अर्ब २३ करोड निक्षेप संकलन गरी ८ अर्ब ५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब १६ करोड सापटी लिई तथा ३ अर्ब ४ करोड निक्षेप संकलन गरी ६ अर्ब २९ करोड कर्जा परिचालन गरेको थियो । 

यो माइक्रोफाइनान्सले जगेडाकोषतर्फ राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म ४७ करोड १० लाख रहेको जगेडा कोषमा यो वर्षसम्म ७२ करोड १४ लाख जम्मा भइसकेको छ । यो कम्पनीको चुक्तापूँजी ४१ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष १.१८ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर यो कम्पनीले ०.६७ प्रतिशतमा झारेको छ । 

यो अवधिमा स्वालम्बनको प्रति सेयर आम्दानी ५९.७६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २४१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२७ गुणा कायम भएको छ।

उता, काठमाण्डौको पुतलीसडकमा मुख्य कार्यालय रहेको रुरल माइक्रोफाइनान्सले २१ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा १७ करोड २९ लाखमा सीमित थियो । 

यो अवधिमा रुरल माइक्रो फाइनान्सले ३४ करोड बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २७ करोड ४२ लाख रुपैयाँमा सीमित थियो । 

यो अवधिमा रुरले ४ अर्ब ९९ करोड सापटी लिएर ५ अर्ब ७५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ६७ करोड सापटी लिई ४ अर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो । 

यो माइक्रोफाइनान्सको जगेडाकोषमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षसम्म यस्तो कोषमा १ अर्ब १० करोड मात्र थियो । यो कम्पनीको चुक्तापूँजी ६९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा रुरल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ३०.५४ रुपैयाँ, प्रति सेयर नेटवर्थ २९०.०५ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १०४५.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.३८ गुणा कायम भएको छ ।