काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओहरुलाई छलफलका लागि बोलाएको छ। 

प्राधिकरणले जीवन बीमा कम्पनीका समसामयिक विषयमा अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागेको हो। छलफल आउँदो शुक्रबार अपराह्न ४ बजे सिनामंगलस्थित एयरपोर्ट होटेलमा हुनेछ। 

जीवन बीमा क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानको विषयमा विशेष छलफल हुने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। मर्जरपछि जीवन बीमकको व्यवसाय, चुक्तापुँजी वृद्धि, हकप्रद निष्कासन, बोनस प्रस्ताव, जनशक्ति व्यवस्थापन, शाखा समायोजन, दाबी भुक्तानी व्यवस्थापन, पुनर्बीमा व्यवस्थालगायतका विषयमा छलफल हुने बताइएको छ। 

‘मर्जरपछि कम्पनीहरुको पुँजी वृद्धि तथा अन्य अवस्था के कस्तो छ भन्ने कुरा बुझ्नका लागि छलफल गर्न लागिएको हो’, पौडेलले भने, ‘पुँजी वृद्धिपछि कम्पनीहरुको दाबी भुक्तानी क्षमता बलियो नभएको देखिएको छ। यस विषयमा पनि छलफल हुनेछ।’