काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले लगानीकर्तालाई मुनाफा दिन र कम्पनीमा लगानी टिकाइराख्न राम्रो प्रतिफल प्राप्त हुनेगरी लगानी विविधीकरण गर्न निर्देशन दिएका छन्।
बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग शुक्रबार काठमाण्डौमा आयोजित अन्तर्क्रियामा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन्। उनले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह गर्न जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन पनि दिए। यसका साथै बीमा व्यवसायलाई विस्तार गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भन्नेमा बीमितहरु ढुक्क हुने वातावरण बनाउनसमेत उनले कम्पनीहरुलाई निर्देशन दिए।
अध्यक्ष सिलवालले यो वर्ष सुधारको वर्ष भएकाले समस्या आउन नदिन, विगतका समस्या दोहोरिन नदिन र संख्यात्मकभन्दा गुणात्मक पक्षलाई ध्यान दिई कार्य गर्न निर्देशन दिए। ‘बीमा कम्पनीका सञ्चालक समितिहरुले कम्पनीमा नीति, विधि र रणनीतिको पालनामा के भइरहेको छ भन्नेमा नियमित रुपमा जानकारी राख्नुपर्छ’, उनले भने, ‘व्यवस्थापनसँग निरन्तर संवाद गर्नुपर्छ, व्यवस्थापनबाट कमी कमजोरी भएको छ छैन भन्ने हेर्नुपर्छ, व्यवस्थापनबाट तोकिएको जिम्मेवारी पूरा भएको छ छैन भन्ने बारेमा जानकारी राख्नुपर्छ।’
प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाबमोजिम तोकिएको अवधिभित्र लगानी विविधीकरण गर्न पुनः निर्देशन दिँदै सिलवालले भने, ‘प्राधिकरणले जोखिम कम गर्न लगानी विविधीकरण गर्न भनेको हो, बजारमा लगानी गर्ने अन्य संस्थाले मुनाफा प्राप्त गर्ने तर बीमा कम्पनीको लगानीबाट मुनाफा नपाउने भन्ने हुँदैन, बीमा कम्पनीहरूले बजारको अध्ययन विश्लेषण गरी विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ।’
कतिपय बीमा कम्पनीमा मर्जरपछि पनि समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष सिलवालले कम्पनीहरुलाई फराकिलो हुन र कर्मचारीसँग सम्बन्धितलगायतका समस्या आफैँ समाधान गर्न सुझाव दिए। ‘बीमा कम्पनीहरुले बैंक र बीमाबीचको फरक बुझाउन सक्नुपर्छ, बैंकले बचत गर्छ तर बीमाले जोखिमसमेत बहन गर्छ भन्ने कुरा सबैलाई बुझाउन सक्नुर्छ’, उनले भने, ‘बैंकमार्फत बीमा गराउने कम्पनीले बैंकले गर्ने विज्ञापनमा अनिवार्य रुपमा आफ्नो नाम राख्न लगाउनुपर्छ, कम्पनीहरुको सुशासनमा देखिएका कमजोरी हटाउनुपर्छ।’
अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले समस्या दोहोर्याई रहे, अस्वस्थ प्रतिस्पर्धा जारी राखे र कानुन, नीति, नियम र निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्न प्राधिकरण बाध्य हुने बताए। अबको कारबाही कडा हुने उल्लेख गर्दै उनले कारबाहीको अवस्था आउन नदिने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19