काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३४ करोड ९४ लाख खूद नाफा आर्जन गरेको छ । 

यो बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा तुलनामा १.२० प्रतिशतको झिनो प्रगति मात्र हासिल गरेको हो । लगानीकर्ताको विश्वास गुमाउँदै गएको यो बैंक पछिल्लो कालमा आक्रामक रुपमा अगाडि आउन सकेको छैन । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकको नाफा ३४ करोड ५२ लाख थियो । 

बैंकले मंगलबार प्रकाशित गरेको वित्तीय विवरणका अनुसार बैंकले खूद आम्दानी  ५० करोड गरेको छ । अघिल्लो वर्षको यही अवधिमा खूद आम्दानी ४५ करोड २० लाख रुपैयाँ मात्र थियो । 

यो बैंकको निक्षेप समेत घटेको छ । अघिल्लो वर्ष ५८ अर्ब ३५ करोड निक्षेप संकलन भएकोमा यो वर्ष घटेर ५७ अर्ब ४१ करोड मात्र भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ, जबकि अघिल्लो वर्षको यही अवधिमा २६ अर्ब ९२ करोड मात्र कर्जा प्रवाह गरेको थियो । 
बैंकको चुक्तापूँजी २ अर्ब ८१ करोड र सञ्चित कोषमा ५ अर्ब ११ करोड रुपैयाँ रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी  ४९.७० रुपैयाँ,  प्रतिसेयर नेटवर्थ २८१.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४.४५ गुणा कायम भएको छ ।