काठमाण्डौ । अर्थतन्त्रमा रिकभरिको संकेतसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको प्रवाह बढ्न थालेको छ । 

गत वर्षको तुलनामा यो वर्षको भदौ महिनाको तेश्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा आउने निक्षेप र प्रवाह हुने कर्जाको ग्रोथ निकै सुखद देखिएको हो । 

गत वर्षको भदौ महिनाभरि वाणिज्य बैंकहरुबाट २० अर्ब हाराहारीमा मात्र कर्जा प्रवाह भएको थियो । तर, यो वर्षको भदौ महिनाको पछिल्लो एक सातामै १० अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघ(एनबीए)ले जनाएको छ । 

एनबीएका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार भदौ २२ गतेसम्म बैंकहरुले ३२ अर्ब बढी नयाँ कर्जा प्रवाह गरिसकेका छन्।

यही अवधिमा बैंकहरुमा २८ अर्ब बढीले निक्षेप थपिएको छ । 

गत एक साता(१६ गतेदेखि २२ गतेसम्म)को तथ्याङ हेर्दा बैंकहरुले १० अर्ब नयाँ लोन प्रवाह गरेका छन् । यो अवधिमा ८ अर्ब डिपोजिट थपिएको छ । 

‘गत आर्थिक वर्षसँग तुलना गर्ने हो भने यो वर्षको भदौको कर्जा र निक्षेप परिचालनको अवस्था उत्साहजनक मान्न सकिन्छ ।’ एनबीएका सीइओ शर्मा भन्छन्–‘तर गत वर्षभन्दा अघिल्ला वर्षहरुको तुलनामा हेर्ने हो भने चाहिँ भदौमा कर्जा र निक्षेपतर्फ देखिएको ग्रोथ नोमिनल नै हो ।’ 

उनले चाडपर्वको सिजन सुरु भएको अवस्थामा समेत कर्जामा उत्साहजनक वृद्धि आउन नसकेको बताए । ‘चाडपर्वलाई लक्षित गरी आयात व्यापार गर्नेहरुबाट लोन माग बढी नै हुनुपर्ने, तर त्यस्तो देखिइसकेको छैन ।’ शर्माले भने–‘हुन त भदौको एकसाता अझै बाँकी छ । अहिलेकै ग्रोथअनुसार कर्जा बढेको अवस्थालाई सन्तोषजनक नै मान्न सकिन्छ ।’ 

भदौ ९ देखि १५ गतेसम्मको सातामा पनि वाणिज्य बैंकहरुमा ८ अर्ब निक्षेप आएको थियो भने ८ अर्ब बराबर नै कर्जा प्रवाह भएको थियो । 

गत शुक्रबार(भदौ २२ गते)सम्मको अवस्था हेर्दा बैंकहरुमा कुल निक्षेप ४९६६ अर्ब पुगेको छ भने कर्जा परिचालन कुल ४३३२ अर्ब पुगेको छ।

शर्माकाअनुसार भदौमा लोन र निक्षेपतर्फ देखिएको ग्रोथ गत पुसदेखि अहिलेसम्मकै उच्च हो । पुसदेखि हालसम्मका कुनै पनि महिनामा भदौमा जस्तो लोन र निक्षेपतर्फ बढोत्तरी भने भएको थिएन । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका कर्जाको माग बिस्तारै बढ्न थालेको देखिन्छ । गाडी कर्जा, घरजग्गा कर्जाको माग बढिरहेको छ । विभिन्न सामानहरु आयात गर्नेहरुबाट समेत कर्जा माग बढेको छ। 

तर, बैंकरहरु भने उल्लेख्य मात्रामा कर्जाको माग अझै बढ्न नसकेको बताइरहेका छन् ।