 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया म्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरुमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गरे। उनले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पुर्याउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवं सहज बनाउन ध्यानाकर्षण गरे।
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए। उनले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिँदै बीमाबाट विपन्न वर्गको आर्थिक रक्षावरण हुनुका साथै गरिबी न्यूनीकरणमा समेत योगदान पुग्ने बताए।
कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सवेदीले बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रमका सहभागीहरुले बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बीमाका बारेमा नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवं सहज हुनुपर्ने, बीमा कम्पनीहरु गाउँ–गाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुसी भएर गर्ने तर बीमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमालेखलाई सरल र छोटो बनाउनुपर्नेलगायतका धारणा राखेका थिए।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुख सचिव, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरुका सचिव, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलगायतको सहभागिता थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19