– मनिष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स पुनः सुचारु गर्ने अभिव्यक्ति दिएसँगै यतिबेला बीमा क्षेत्रमा नै तरंग मच्चिएको छ। विशेषगरी बीमा कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ताहरुले बैंकास्यारेन्सको भर्त्सना गरेका छन्। 

२०७६ सालमा नै नेपाल राष्ट्र बैंकले बन्द गरेको बैंकास्यारेन्स व्यवस्था अध्यक्ष सिलवालले ब्युँत्याउने अभिव्यक्तिले बीमा अभिकर्ताहरु आक्रोशित बनेका छन्। बैंकास्यारेन्स पुनः सुचारु नगर्न प्राधिकरणमा एक साताअघि नै पत्र पठाइसकेको अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए। 

बैंकास्यारेन्स पुनः सुचारु गर्नु सिंगो बीमा क्षेत्रका लागि नै घातक रहेको अध्यक्ष अधिकारीको भनाइ छ। ‘वर्तमान परिपेक्ष्यमा नेपालको लागि बैंकास्यारेन्स लाभदायी छैन, आमसर्वसाधारणमा अझै पनि बीमाबारे जानकारी छैन कर्पोरेट संस्थाहरुले पब्लिकलाई बीमाबारे जानकारी गराई बीमा गराउन सक्दैनन्’, उनले भने, ‘सर्वसाधारणहरुलाई पटक–पटक कन्भिन्स गरी बीमा गराउनुपर्ने अवस्था छ तर बैंकहरुलाई त्यसरी बीमा गराउन फुर्सद छैन र बैंकको मुख्य गोल भनेको नै एक ब्यक्ति एक बैंकमात्रै हो।’

बैंकास्यारेन्स पुनः सुचारु गर्दा बीमा कम्पनीको व्यवसाय नै घट्ने र प्राधिकरणको लक्ष्यअनुसारको बीमाको दायरासमेत नपुग्ने अध्यक्ष अधिकारीको तर्क छ। ‘बीमा प्राधिकरणले यसअघि बैंकहरुलाई बीमा गराउन अनुमति दिनु नै मुख्य गल्ती थियो, साथै बैंक तथा बीमा कम्पनीहरुले पनि मिलेमलोमा बैंकास्योरेन्स लागु गर्यो तर त्यो सफल भएन’, अधिकारीले भने, ‘फेरि पनि प्राधिकरणले त्यो गल्ती गर्न खोज्दैछ तर अभिकर्ताहरु अब चुप लागेर बस्ने अवस्था छैन।’ 

बैंक तथा बीमा कम्पनीहरुले बैंकास्यारेन्स व्यवस्था लागू गर्दा जति बीमा बिक्री भयो त्यसको ९० प्रतिशतभन्दा बढी रिन्युयबल नउठेको अधिकारीको दाबी छ। ‘बीमा गराएअनुसारको नवीकरण बीमा नआएपछि त्यसको घाटा प्राधिकरण र बैंकलाई नभए पनि पब्लिकहरुलाई प्रत्यक्ष पर्न गएको छ’, उनले भने, ‘पब्लिकमा अझै पनि बीमा मेरा लागि भन्ने कुराको चेत छैन, लोन र सरेन्डरका लागि पहिला २ वर्षको व्यवस्था हुँदा त बीमा नवीकरण नहुने समस्या थियो, अहिले त झनै त्यस्तो सुविधा पाउन ३ वर्षको व्यवस्था छ, बैंकास्योरेन्स सुचारु भयो भने बीमा नवीकरण हुने कुनै चान्स नै छैन।’ 

नेपालको सन्दर्भमा सर्वसाधारणले बीमा कम्पनी र अभिकर्ता खोजी–खोजी बीमा गराउने अवस्था नभएको अधिकारी बताउँछन्। ‘अहिले पनि अभिकर्ताहरु नै खटिएर पब्लिकलाई बीमाबारे बुझाएरमात्रै बीमा गराउनुपर्ने अवस्था छ तर बैंकहरुले सर्वसाधारणलाई कन्भिन्स गराएर बीमा गराउन सक्दैनन्, यसकारण हामीले बैंकास्यारेन्स पुनः सुचारु गर्न नदिन विरोध गरेका हौँ’, अधिकारीले भने। 

यसअघि पनि बैंकास्यारेन्स व्यवस्था हुँदा अभिकर्तामात्रै नभई सर्वसाधारणले समेत विरोध गरेको अधिकारी बताउँछन्। ‘विशेषगरी राष्ट्र बैंकले बीमा बेच्न प्राधिकरणलाई मात्रै दिएर हुँदैन, बैंकहरुलाई पनि दिनुपर्छ भन्दै बैंकलाई बीमा बेच्न अनुमति दिएको थियो तर राष्ट्र बैंकमा नै उजुरीको चाङ लाग्यो’, अधिकारीले भने, ‘जबरजस्ती ‘हलो अड्काउने गोरु पड्काउने’ भनेजस्तै गरी बैंकहरुले सर्वसाधारणको बीमा गराउँदा उजुरीको चाङ बढ्दै गएपछि राष्ट्र बैंकले अध्ययन गरी बैंकास्योरेन्स हटाएको थियो।’ 

बैंकहरुले बैंकास्यारेन्स व्यवस्थाबमोजिम आमनागरिकलाई जबरजस्ती बीमा गराएको देखिएपछि राष्ट्र बैंक र अभिकर्ताको पहलमा बैंकास्योरेन्स बन्द भएको अधिकारीले बताए। ‘सर्वसाधारणहरुको उजुरी परेर घातकसिद्ध भइसकेको भर्खरै ताजै रहेको घाउलाई बीमा प्राधिकरणले फेरि फाटो उक्याउन खोज्नु पक्कै राम्रो कुरा होइन’, उनले भने, ‘बैंकास्योरेन्स बन्द नै हुनुपर्छ यो सुचारु गर्न दिँदैनौँ प्राधिकरणलाई हामीले विरोधपत्र बुझाइसकेका छौँ।’ 

अहिलेको वर्तमान अवस्थामा बैंकास्योरेन्स उचित नभएको अधिकारीको तर्क छ। अभिकर्ताहरुले विरोधपत्र बुझाउँदा प्राधिकरणबाट तत्कालै यो व्यवस्था लागू नहुने प्रतिक्रिया आएको अधिकारीले बताए। ‘विरोधपत्र बुझाउँदा प्राधिकरणबाट हामीले तत्कालै बैंकास्योरेन्स ल्याउन खोजेका होइनौँ, प्रश्नको प्रसंगमा यो विषय उठिएको मात्रै हो, अध्ययन गरिने भनिएको हो, बैंकास्योरेन्स ल्याउछौँ भनिएको होइन भन्ने प्रतिक्रिया आएको छ’, उनले भने। 

यसअघि बीमा प्राधिकरणका अध्यक्ष सलवालले एक सार्वजनिक कार्यक्रममा बैंक र बीमासँगै अघि बढेर जाँदा बीमाको पहुँच अत्यधिक मात्रामा वृद्धि हुन सक्ने भन्दै बैंकस्योरेन्स पुनः सुचारु गर्ने विषयमा छलफल भइरहेको अभिव्यक्ति दिएका थिए। 

बैंकास्योरेन्स पुनः सुचारु भएमा ३ लाख अभिकर्ताको रोजीरोटी नै खोसिने अभिकर्ता पेसामा एक दशकभन्दा बढी सक्रिय रहेका मेगराज जीसीले बताए। ‘अहिले बजारमा प्राधिकरणले बैंकास्योरेन्स पुनः सुचारु गर्ने छलफल भइरहेको कुरा हल्ला छ, तर हामीले कदापी सुचारु गर्न दिँदैनौँ’, उनले भने, ‘बैंकास्योरेन्स व्यवस्था हुँदा बखतका ८० प्रतिशत पोलिसीहरु यतिकै ल्याप्स छन्, फेरि यो व्यवस्था लागू भए ऋणिहरुलाई बीमा गराएर थप बोझमात्रै हुन्छ, यसले सिंगो बीमा क्षेत्रको अवस्था बिग्रने सम्भावना रहन्छ।’ 

यसका साथै प्राधिकरणलाई कुनै हालतमा पनि बैंकास्योरेन्स पुनः सुचारु गर्न नदिने जिसीले बताए। ‘अभिकर्ताहरुको रोजीरोटी नै खोसिने बैंकास्योरेन्स पुनः सुचारु भए हामी प्राधिकरण नै घेराउ गर्छौ आन्दोलन गर्छौ तर यो सफल हुन दिँदैनौँ’, उनले भने। 

केही वर्षअघि बैंक तथा वित्तीय संस्थाहरुले बीमा कम्पनीसँग कोड लिई आफैँले बीमा सुविधा दिने हिसाबले बैंकास्योरेन्सको सेवा दिँदै आइरहेका थिए। तर, अभिकर्ताले बैंकास्योरेन्स ऐनविपरीत बलमिच्याइँ भएको भन्दै विरोध गरेका थिए। चर्को आलोचनापछि राष्ट्र बैंकले २०७६ सालनमा बैंकास्योरेन्स सेवा बन्द गरेको थियो।