काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा पहेँलो धातु सुनको मूल्यमा भारी गिरावट आएको छ । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो समय उछालको गतिमा कुदिरहेको सुनको मूल्य पछिल्लो २४ घण्टामा भने पहिरो व्यहोर्दै १.३९ प्रतिशतले घटेको हो । 

पछिल्लो २४ घण्टामा सुनको मूल्य प्रति औंस २८.१८ डलर अर्थात १.३९ प्रतिशतले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस १९९९ डलरमा झरेको छ । 

केही दिनअघिसम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २१०० डलर नजिक पुगेको थियो । त्यसपछि करेक्सनमा गएको सुनको मूल्य पछिल्लो समय भने ह्वात्तै घटेको हो । 

नेपाली बजारमा समेत सुनको भाउ अन्तराष्ट्रिय बजारको भाउअनुसार घटबढ हुने गर्छ । यहीकारण नेपाली बजारमा सुनको भाउ पनि ह्वात्तै घट्ने सम्भावना देखिएको छ । 

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ रहेको छ । 

सुरक्षित लगानीका लागि सुन निकै लोकप्रिय छ । लगानीका अन्य क्षेत्रमा सशंय पैदा हुन थालेपछि सुनमा लगानी गर्नेहरु बढ्छन भने अन्य क्षेत्र लगानीमैत्री हुन थालेपछि सुन बेचेर ठूला लगानीकर्ता अन्यत्र सर्छन । यहीकारण सुनको मूल्य घटबढ हुने गर्छ ।