काठमाण्डौ । कुमारी बैंकले एक साता नबित्दै पुनः ब्याजदर घटाएको छ । 

एकसाताको अन्तरमा यो बैंकले पुनः निक्षेपको ब्याजदर घटाएको हो । पुस १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आउने ब्याजदर करिब ९ प्रतिशतसम्म घटेको छ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेलगत्तै ब्याजदर घटाएर बजारमा आशा र उत्साहको सञ्चार गरेको कुमारी बैंकले पुस १ गतेदेखि लागू हुने गरी व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर न्यूनतम ७.७५ प्रतिशतसम्म कायम गरेको हो । 

तीन महिनादेखि १ वर्षसम्मको अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ७.७५ प्रतिशत तोकिएको छ । एकदेखि २ वर्षसम्मका लागि ब्याजदर घटाएर ८.२५ प्रतिशत, २ देखि ५ वर्षसम्मको निक्षेप योजनाका लागि  ८.७५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि ९.३१ प्रतिशत तोकिएको छ । 

मंसिर २४ गतेदेखि लागू हुने गरी कुमारी बैंकले व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ८.५१० प्रतिशत ब्याजदर तोकेको थियो । 

यस्तै, ६ महिनादेखि १ वर्षका लागि ९.०१० प्रतिशत, एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ९.६१० प्रतिशत ब्याजदर तोकेको थियो । 
सामान्य बचतको ब्याजदर पनि ४.७१० बाट घटाएर ४.५१ प्रतिशत कायम गरिएको छ । 

रेमिट बचत खाताको ब्याजदर ५.५१ प्रतिशत, आईपीओ बचत खाताको ६.५१ प्रतिशत, रेमिट प्रिमियम बचत खाताको ६.५१, कर्णाली क्षेत्रमा छोरी बचत खाताका लागि ६.५१ प्रतिशत, कुमारी गज्जबको बचत खाताका लागि ६.५१ प्रतिशत तोकिएको छ । 

कुमारी बैंकले यसअघि नै आफ्ना कर्जाका सबै प्रडक्टहरुको ब्याजदर आधारदरमा अधिकतम ३.५ प्रतिशत प्रिमियम जोडेर निर्धारण हुने जनाइसकेको छ । जनवरीदेखि प्रिमियम दर अधिकतम ३.५ प्रतिशत मात्र कायम हुने घोषणा गरेको बैंकले पुस १ गतेदेखि नै यो व्यवस्था लागू हुने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

पुस १ गतेदेखि लगानीकर्ताले यो बैंकको आधारदरमा न्यूनतम १.५ प्रतिशत प्रिमियममा सेयरधितो कर्जा पाउनेछन् । यो प्रडक्टको अधिकतम प्रिमियम ३.५ प्रतिशत छ । 

कर्पोरेट लोनका लागि आधारदरमा ०.५ देखि २.५० प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण हुनेछ भने कृषि लोनमा अधिकतम २ प्रतिशत मात्र प्रिमियम लिइने बैंकले जनाएको छ । 

यो बैंकले पर्सनल टर्म लोन दिंदा आधारदरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्नेछ । 

अटोलोनमा पनि सोही व्यवस्था लागू हुने बताइएको छ । 

कुमारी बैंकबाट होम लोन लिनेका लागि आधारदरमा न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय हुनेछ ।