काठमाण्डौ । कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय बन्न थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ । 

के एआईले मानिसहरुको जागिर खोस्छ ? यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम आविष्कार भएता पनि यसले कयौँ खतराहरु पनि संगसंगै निम्त्याएको बताउने गरेका छन् । 

अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले आफ्नो एक विश्लेषणमा भनेको छ,‘कृत्रिम बौदिकताले विश्वको ४० प्रतिशत जागिरमा असर गर्नेछ र यसमा पनि सबैभन्दा बढी प्रभाव विकसित देशमा पर्नेछ । विकाशील देशहरुमा भने यसको प्रभाव अलि कम देखिनेछ ।’

आइएमएफकी म्याजेजिङ डाइरेक्टर क्रिस्टालीना जर्जीवाले यो विशलेषणबारे एउटा ब्लग पोस्ट गर्दै भन्छिन्,‘अधिकांश परिदृश्यमा एआईले सबैजसो असमानतालाई अझ धेरै खराब बनाउनेछ । यो एउटा हैरान पार्ने खालको ट्रेण्ड हो । जसलाई नीति निर्माताहरुले प्रविधिलाई सामाजिक तनाव बढाउने कार्यबाट रोक्नका लागि सक्रिय रुपमा प्रयास गर्नुपर्छ ।’

आय असमानतामा एआईको प्रभाव धेरै हदसम्म उच्च कमाउनेहरुका लागि प्रविधि कत्तिको उपयोगी छ भन्ने कुरामा निर्भर रहनेछ । जर्जीयाका अनुसार उच्च कमाई भएका कर्मचारी र कम्पनीहरुको अधिक उत्पादकत्वबाट पूँजी प्रतिफललाई बढावा मिल्नेछ । 

जसका कारण पैसाको अन्तर बढ्नेछ । जर्जीयाका अनुसार विश्वका देशहरुले कमजोर कर्मचारीहरुको सामाजिक सुरक्षामा ध्यान दिनुपर्नेछ र उनीहरुका लागि रि–ट्रेनिङका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यक देखिन्छ । 

आइएमएफको विश्लेषणका अनुसार एआईले केहि कामहरुको स्थान पूर्ण रुपमा ओगट्नेछ । तर एआइ मानवीय कामहरुको पूरकका रुपमा देखिने धेरै सम्भावना रहेको छ । विकसीत देशमा यसबाट ६० प्रतिशत जागिर प्रभावित हुन सक्नेछन् । जुन उदाउँदो अर्थतन्त्र भएका र कम आय भएका देशहरुको तुलनामा निकै धेरै हो । 

कम्पनीहरुले नयाँ विकास भईरहेका प्रविधिहरुमा लगानी गरिरहेका छन् । जसका कारण कर्मचारीहरुमा बेला–बखतमा आफ्नो भविष्यको चिन्ता देखिने गर्छ ।