बाग्लुङ्ग । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडले बाग्लुङ्गमा बुधबारदेखि शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले गरे । सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरि अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिति थियो । 

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । सो अवसरमा जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस भनि शुभकामना व्यक्त गरे । सोही अवसरमा अध्यक्ष चापागार्ईंले सबैले आफ्नो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई आग्रह गरे ।

शुभकामना मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगी, व्यवसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं बाह्य पर्यटनको साथसाथै मेचीदेखि महाकालीबाट बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि समेत यस आइएमई समूहले छिटोछरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं बाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनका लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको जानकारी दिए । आफ्नो गृह जिल्ला समेत रहेको बाग्लुङ्गमा आफ्नो समूहले शुरु गरेका सेवाहरु प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले प्रशन्नता ब्यक्त गरे ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीले आज उद्घाटन भएको शाखासहित देशभरी खोलिने ५५ वटा शाखाहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्र्नेे जानकारी दिए । सो कार्यक्रममा अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीले १ बर्षभित्र सर्बसाधारणलाई शेयर जारी गरे पश्चात कम्पनीको चुक्तापूंजी रु. २ अर्ब पुग्ने जानकारी गराए ।

सो कार्यक्रममा कम्पनीको बाग्लुङ्ग शाखाले सोही दिन रु २० लाख बीमा शुल्क आर्जन गरेको जानकारी गराइएको थियो ।