काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित २ म्युचुुअल फण्डको अवस्थामा सुधार देखिएको छ । दुवै ५ वर्षे बन्दमुखी फण्ड हुन् र असोज मसान्तसम्म दुवैको प्रति इकाई खूद मूल्य(न्याभ) बढेको छ । 

आगामी पुस ९ गते परिपक्व हुन लागेको ५ वर्षे.८०  बन्दमुखी सिद्धार्थ लगानी वृद्धि योजना-१ को असोज मसान्तमा प्रति इकाई खूद मूल्य(न्याभ) बढेको छ । भदौ मसान्तसम्म २१ रुपैयाँ रहेको न्याभ बढेर २१.५५ रुपैयाँ कायम भएको हो । 

असोज मसान्तसम्म यो स्किमले सूचिकृत सेयरमा ६८ करोड ९१ लख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १ करोड ५६ लाख लगानी गरेको छ भने मुद्धती निक्षेपमा ३५ करोड ५० लाख रुपैयाँ राखेको छ । 

असोज मसान्तसम्म स्किमको प्राप्त भइसकेको आम्दानी ११ करोड ९७ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म यो फण्डले कुल २ करोड ९७ लाख आम्दानी गरेको छ । भदौसम्म यस्तो आम्दानी २ करोड ४४ लाख थियो । 

असोज मसान्तसम्म ५७ कम्पनीको सेयरमा लगानी गरेको यो स्किमले सबैभन्दा धेरै कित्ता सिटिजन्स बैंक लिमीटेडको खरीद गरेको छ । यो बैंकको ५० हजार १ सय ५७ कित्ता खरीद गरेको हो । यस्तै, रकमको हिसाबले सबैभन्दा धेरै लगानी एनएलजी इन्स्योरेन्समा ४ करोड ४३ लाख गरेको छ । 

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको प्रति इकाई खूद मूल्य पनि बढेको छ । भदौ मसान्तसम्म यस्तो मूूल्य १२.८० रुपैयाँ रहेकोमा बढेर असोज मसान्तसम्म १३.२१ रुपैयाँ कायम भएको हो । 

यो अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ९६ करोड बढी लगानी गरिसकेको छ । ऋणपत्रमा २ करोड ६० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा गरी ७ करोड ६३ लाख लगानी गरेको छ भने मुद्धती निक्षेपमा १९ करोड ५० लाख राखेको छ । 

असोज मसान्तसम्म यो स्किमको प्राप्त भइसकेको आम्दानी ६ करोड २० लाख रुपैयाँ छ । समीक्षा अवधिसम्म स्किमको कुल आम्दानी ३ करोड ९ लाख रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म यो स्किम ९४ लाख ३९ हजार खूद घाटामा थियो । 

समीक्षा अवधिसम्म यो स्किमले ८३ कम्पनीको सेयरमा लगानी गरेको छ । कित्ताको संख्याको हिसाबले सबैभन्दा धेरै जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर खरीद गरेको छ । यो कम्पनीको कुल ९५ हजार ४ सय २७ कित्ता स्किमले खरीद गरेको छ । सबैभन्दा धेरै रकम ६ करोड ४६ लाख नवील बैंकमा लगानी गरेको छ ।