काठमाण्डौ । सेयरधनीलाई १०० प्रतिशत बोनस सेयरको बम्पर अफर सार्वजनिक गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार पुस १६ देखि २६ गतेसम्म बुक क्लोज रहनेछ । यसको अर्थ पुस १५ गतेभित्र यो बैंकको सेयर खरीद गर्नेहरुले १०० प्रतिशत बोनस सेयर पाउन सक्नेछन् । 

बैंकले आगामी पुस २६ गते ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभाले सतप्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरी चुक्तापूँजी ८ अर्ब १० करोड पुर्याउने विशेष प्रस्ताव पारित गर्ने भएकाले यसलाई धेरैले चासोको रुपमा हेरेका छन् । 

राष्ट्रबैंकले पूँजीवृद्धिको नीति लिएपछि अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले हकप्रद सेयर जारी गरेर तोकिएको पुँजी पुर्याउने बाटो रोजे पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने निकै बठ्याईपूर्वक १०० प्रतिशत बोनस सेयर जारी गर्ने फण्ड नेपालीहरुबाटै उठाएर सहजै चुक्तापुँजी पुर्याउन लागेको हो।

यो बैंकले गत वर्ष आर्जन गरेको नाफा र एफपीओ निश्कासनको क्रममा संकलन भएको प्रिमियमबापतको रकमलाई प्रयोग गरी ४ अर्ब बढीको बोनस सेयर वितरण गर्न लागेको छ । बहुप्रतिक्षित र बहुचर्चित यही निर्णयलाई कार्यान्वयनका लागि साधारणसभाले बाटो खोलिदिनेछ । बैंकले गत वर्ष १ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेको थियो । 

बोनस सेयरसँगै कर प्रयोजनका लागि बैंकले ५.२६ प्रतिशत नगद लाभांसको प्रस्ताव समेत साधारणसभाले पारित गर्ने बताइएको छ । 

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ५ करोड रुपैयाँ छ। बोनस शेयरपछि पूँजी ८ अर्ब १० करोड रुपैयाँको उचाईमा पुुग्नेछ । 

आगामी वार्षिक साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत पेश हुने बताइएको छ ।

संचालकको उमेदवार बन्न चाहने शेयरधनीसँग कम्तीमा ३०० कित्ता सेयर हुनुपर्ने शर्त बैंकले राखेको छ ।