काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोलबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलबाट विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको हो।

केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब ७५ करोड र ९१ दिनका लागि ३ अर्ब बराबरको बिल निश्कासन गर्न लागेको हो । निश्कासन गर्न लागिएको बिल फ्रेस होइन । 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । 

पुस ३० गते आइतबार दिउँसो २ बजे बोलकबोल हुने ट्रेजरी बिलको निष्काशन माघ २ गते मंगलबार गरिने राष्ट्र बैंकले जनाएको छ। 
२८ दिने ट्रेजरी आउँदो फागुन १ गते र ९१ दिने बिल आउँदो बैशाख ४ गते परिपक्व हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ ,‘ख’,र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्छन्। 

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ।