काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि  मुक्तिनाथ विकास बैंकले राम्रो प्रगति विवरण सार्वजनिक गरेको छ । विकास बैंकहरुमध्ये टप बैंक मुक्तिनाथले २६ करोड ४३ लाख रुपैयाँ  खूद नाफा आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २२ करोड ३२ लाखमा सीमित थियो ।

तर,यो बैंकले समेत बढेको पूँजी अनुसार आम्दानी गरी नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानीलाई भने नियन्त्रणमा राख्न सकेन । अघिल्लो वर्ष यही अवधिमा २९.१५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर यो वर्ष २०.४० रुपैयाँकमा सीमित बनेको छ । बैंकले खूद नाफातर्फ १८.४४ प्रतिशतको बढोत्तरी हासिल गरे पनि चुक्तापूँजी भने ६९ प्रतिशतले वृद्धि गरेको थियो । यहीकारण प्रतिसेयर आम्दानी नियन्त्रणमा आउन सकेन ।
समीक्षा अवधिमा बैंकले २१ अर्ब ७३ करोड निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १४ अर्ब ५८ करोड निक्षेप संकलन गरी १३ अर्ब ९ करोड कर्जा परिचालन गरेको थियो ।

व्यवसाय बिस्तारमा केन्द्रीत भएका कारण बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ४६ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ५५ करोड ८२ लाखको उचाईमा पुगेको छ । संचालन नाफामा समेत २१ प्रतिशत भन्दा बढी वृद्धि भएका कारण बैंकले खर्च नियन्त्रणमा समेत विशेष ध्यान दिएको बुझ्न सकिन्छ ।

बैंकले यो अवधिमा चमात्कारिक ढंगले खराब कर्जालाई शून्यको हाराहारीमा झारेको छ । अघिल्लो वर्ष ०.१८ प्रतिशत रहेको खराब कर्जा घटेर ०.०१ प्रतिशतमा झार्न बैंक व्यवस्थापन सफल देखिएको छ । 

बैंकले रिजर्ब कोषमा समेत उत्साहप्रद वृद्धि गरेको छ । अघिल्लो वर्ष ४४ करोड ४० लाख रहेको कोषको आकार बढाई समीक्षा अवधिसम्म ६४ करोड १४ लाखको उचाईमा पुर्याएको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२४.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५९ गुणा कायम भएको छ ।