काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहले नवील बैंकको डेपुटी सीइओ बन्न पाउने भएका छन् । 

कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले अनिलकेशरी शाहलाई डेपुटी सीइओमा नियुक्त गर्ने निर्णय गरेको थियो । अहिले बैकिङ बजार यो नियुक्ति प्रकरणले तातेको छ । 

‘हाम्रो परिपत्रमा एउटा बैंकबाट राजीनामा गरेको सीइओले अर्को बैंकमा तत्काल डेपुटी हुन पाउँदैन भन्ने कुरा उल्लेख छैन । हामीले कुलिङ पिरियडको व्यवस्था सीइओका लागि मात्र कार्यान्वयनमा ल्याएका हौ, डेपुटीका लागि होइन ।’
-नारायण पौडेल, प्रवक्ता : राष्ट्रबैंक

नवील बैंकले यसअघि शाहलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उनलाई जुन दिन सीइओमा नियुक्त गर्ने निर्णय नवील बैंकको बोर्डले गर्यो, त्यही दिन राष्ट्रबैंकले कुलिङ पिरियड सम्बन्धी व्यवस्था लागू गरिदियो । केन्द्रीय बैंकले नयाँ व्यवस्था लागू भइसकेको अवस्थामा नवीललाई बोलाएरै अनौपचारिक छलफल गर्दै अनिलकेशरी शाहलाई सीइओमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्न निर्देशन दियो ।

नियामकबाट निर्देशन आएपछि बैंकको संचालक समितिको पुनः बैठक बसी शाहलाई सीइओमा नियुक्त गर्ने निर्णय खारेजीको निश्कर्षमा निकालियो ।

तर, त्यसको केही दिनमै कुलिङ पिरियडसम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकको संचालक समिति बैठकले शाहलाई डेपुटीकै रुपमा बैंकमा भित्र्याउने र कामु वा निमित्त सीइओ दिएर काम गर्न लगाउने चलाख्याईपूर्ण निर्णय गर्यो । यो निर्णयसँगै सीइओको रुपमा नवील जान नपाउने शाहले डेपुटीको रुपमा जान पाउने कि नपाउने ? भन्ने बहस छेडिएको छ । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलले कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि आफूहरुले बैंक तथा बित्तीय संस्थाहरुलाई  गरेको परिपत्रको आधारमा शाहलाई डेपुटी सीइओ हुन नरोक्ने प्रष्ट्याएका छन् । बिजशालासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने–‘हाम्रो परिपत्रले एउटा बैंकबाट राजीनामा गरेको सीइओले अर्को बैंकमा तत्काल डेपुटी हुन पाउँदैन भन्ने कुरा उल्लेख छैन । हामीले कुलिङ पिरियडको व्यवस्था सीइओका लागि मात्र कार्यान्वयनमा ल्याएका हौ, डेपुटीका लागि होइन ।’ 

उनले परिपत्रले शाहलाई डेपुटी सीइओ बन्न नरोकेको थप प्रष्ट्याउँदै नयाँ व्यवस्थाको छिद्रहरुमा सुधार गर्ने बिषयमा राष्ट्रबैंकभित्र छलफल गरिने बताए । 

नेपाल राष्ट्रबैंकका अर्का एक अधिकारीले नवीलले छल गरेर शाहलाई बैंकमा भित्र्याएको दाबी गरे । ‘तर, हामीले शाहलाई  डेपुटी समेत  बनाउन कुलिङ पिरियडसम्बन्धी व्यवस्थाले दिंदैन भन्न सक्ने अवस्था छैन ।’ ती अधिकारीले भने–‘हामीले यस्तो निर्देशन दिइहाले पनि नवीलले हामीलाई च्यालेञ्ज गर्नसक्छ, यो जोखिम हामी लिंदैनौ । परिपत्रमै नसमेटिएको बिषय कार्यान्वयन किन नगरेको भनेर प्रश्न सोध्ने नैतिक बल हामीसँग छैन । त्यसैले शाह डेपुटी सीइओ बन्न पाउँछन् ।’ 

तर, आउनसक्छ यस्तो आपत
अधिकारीहरुको भनाईमा शाहलाई नवीलको डेपुटी सीइओ बन्न नरोके पनि त्यसपछि बैंकले उनलाई दिनसक्ने कामु वा निमित्त सीइओको जिम्मेवारीमा भने लफडा हुनसक्छ । ‘कुलिङ पिरियडले शाहलाई डेपुटी हुन दिन्छ, तर निमित्त वा कामु हुन दिन्छ त ?’ केन्द्रीय बैंककै एक अधिकारीले प्रश्न गर्दै भने–‘यो निर्णय नवीलका लागि अन्ततः टाउको दुखाईको बिषय बन्न सक्ने देखिन्छ ।’ 

तर, नवील बैंकका एक संचालकको भनाईमा यो संभावनाको बिषयमा समेत बैंकभित्र व्यापक छलफल भएको छ । डेपुटीलाई कामु वा निमित्त हुन नयाँ व्यवस्थाले रोक्यो भने आपसी  समझदारीमा ३ महिनाका लागि बैंक निकट कुनै बैंकर वा संचालकमध्येकै कोही व्यक्तिलाई सीइओ(नाम मात्रको सीइओ) नियुक्त गर्ने(जुन कागजी मात्र हुनेछ) र तीन महिनापछि सहमतिमै उनलाई राजीनामा गर्न लगाई डेपुटीको रुपमा रहेका शाहलाई बढुवा गरी सीइओ बनाउने । यही बिषयमा संचालकबीच एकखालको सहमति बनेको बताइएको छ । ‘सो क्रममा केही  महिनाका लागि यस्तो जिम्मेवारी संचालक समेत रहेका उपेन्द्र पौड्यालले पाउन सक्नेछन् ।’–स्रोतले भन्यो । 

र, यो पनि पढ्नुहोस्: