काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको प्रारम्भदेखि नै विरोध गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि काइते काम गरेको छ । 

नेपाल राष्ट्रबैंकको पटक–पटकको चेतावनीपछि अन्य विदेशी लगानीको बैंकसँगै गोलमटोल पूँजीवृद्धिको योजना बुझाएर काइते काम गरेको हो । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्म देशका वाणिज्य बैंकहरुले ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने नीति लिएको छ । यो नीति कार्यान्वयनका लागि उसले सम्बन्धित निकायहरुलाई नियमित रुपमा ताकेता गर्ने गरेको छ । यो क्रममा पटक–पटकको ताकेतापछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकसँगै पूँजीवृद्धिको योजना हालै बुझाएको स्रोतले उल्लेख गरेको छ । 

‘तर स्ट्याण्डर्ड चार्टर्डको पूँजीवृद्धिको योजना गोलमटोल छ । विभिन्न बाटोबाट तोकिएको पूँजी पुर्याउने भन्दा पनि ०७४ असार मसान्तसम्म जसरी पनि ८ अर्ब पुर्याउने आशयको योजना आएको छ, यो गोलमटोल भयो भनेर हामीले विकल्पहरुसहितको पूँजीवृद्धि योजना चाहियो भनेका छौ ।’
-चिन्तामणि शिवाकोटी(डेपुटी गभर्नर)- नेपाल राष्ट्रबैंक

‘तर स्ट्याण्डर्ड चार्टर्डको पूँजीवृद्धिको योजना गोलमटोल छ ।’ नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बिजशालासँग भने–‘विभिन्न बाटोबाट तोकिएको पूँजी पुर्याउने भन्दा पनि ०७४ असार मसान्तसम्म जसरी पनि ८ अर्ब पुर्याउने आशयको योजना आएको छ, यो गोलमटोल भयो भनेर हामीले विकल्पहरुसहितको पूँजीवृद्धि योजना चाहियो भनेका छौ ।’ 

उनले एभरेष्ट बैंक र एसबीआई बैंक लगायतले पूँजीवृद्धिको योजना पेश गरेका र उनीहरुको योजना भने स्पष्ट रहेको जानकारी दिए । ‘कसैले बोनस र हकप्रद सेयर इस्यू गरेर, कसैले रिजर्बबाट तोकिएको पूँजी पुर्याउने भनेका छन् ।’ उनले थपे–‘उनीहरुले यो यो बाटोबाट पूँजी पुर्याउने भने पनि स्ट्याण्डर्ड चार्टर्डले भने फेरि अटेरी पाराले गोलमटोल योजना बुझाएको छ, यो हामीलाई मान्य हुन्न ।’ 

नेपाल राष्ट्रबैंकले दुई वर्षअघिको मौद्रिक नीतिबाट नेपालका बैंक तथा बित्तीय संस्थाहरुमा जोखिम बढेको र थोरै चुक्तापूँजी हुँदा सर्वसाधारणको निक्षेप सुरक्षित नहुने, संचालकबाट हदैसम्मका फट्याई हुने र समग्र बैकिङ उद्योग नै धरापमा पर्ने तथा मुख्य रुपमा अन्य देशका बैंकहरुको  तुलनामा प्रतिस्पर्धी नहुने समस्या रहेको भन्दै पूँजीवृद्धिको योजना सार्वजनिक गरेको थियो । त्यसपछि स्वदेशी बैंकहरुले क्रमागत रुपमै पूँजीवृद्धिको योजना पेश गरी धमाधम काम गरिरहे पनि विदेशी बैंकहरुले ‘चुक्तापूँजी अनुसारको विजिनेश नेपालमा नभएको’ भन्दै नीतिको नै विरोध गरी अटेर गरिरहेका हुन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशी(आइएमएफ, वल्र्ड बैंक)हरुसँगको सम्बन्धको फाइदा उठाएर सार्वजनिक समारोहहरुमा राष्ट्रबैंकको पूँजीवृद्धि योजनाको कटु आलोचना गर्दै आएको छ । यो बैंकको उच्च व्यवस्थापनले पूँजीवृद्धिको नीति नै खारेज हुनुपर्ने माग पनि गर्दै आएको छ । तर नेपाल राष्ट्रबैंक एउटा विदेशी बैंकको प्रभाव र दवाबमा समग्र नीति नै परिवर्तन गर्ने पक्षमा छैन । राष्ट्रबैंक आफ्नो नीतिबाट पछि नहट्ने स्पष्ट संकेतहरु दिएपछि यो बैंकले नेपालबाट लगानी नै फिर्ता लैजानेसम्मको घुर्की समेत बेला बेला देखाउने गरेको छ । 

‘एउटा बैंकका लागि नीति परिवर्तन गर्ने सवाल नै आउदैन ।’ डेपुटी गभर्नर शिवाकोटीले भने–‘उसले अझै पनि नेपाल नै छाडेर जान्छ भन्ने कुरा पनि गर्छन् कतिपय साथीहरु, तर हामीलाई त्यस्तो लाग्दैन । स्ट्याण्डर्ड चार्र्टर्डले स्पष्ट पूँजीवृद्धि योजना पुनः पेश गर्नेछ भन्नेमा विश्वस्त छौ ।’ 

स्ट्याण्डर्ड चार्टर्डको चुक्तापूँजी २ अर्ब ८१ करोड मात्र छ । यसको जगेडा कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । 

विदेशी लगानीको बैंक भएकै कारण नेपालको कानून वा नीति नमान्नु र अटेर गर्नुले बैंककै छविमा समेत क्षति पुग्ने देखिन्छ । यस वर्षको असार मसान्तभित्र ४ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने राष्ट्रबैंकको निर्देशनबाट स्ट्याण्डर्डलाई उन्मुक्ति मिलेको हो या राष्ट्रबैंकका गभर्नर र अन्य उच्च कर्मचारी बैंकसँग मिलेर यी सबै कुराहरुलाई नजरअन्दाज गरेका हुन ? भन्ने प्रश्न पनि उठेको जानकार बताउँछन । 

यो पनि पढ्नुहोस्