काठमाण्डौ । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको नियुक्तिसँगै राजीनामा दिन तयार भए पनि केही निकटस्थहरुको सल्लाहमा ‘पर्ख र हेर’को रणनीतिमा बसेका नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले राजीनामा दिए भने अचम्म नमान्दा हुन्छ । कारण, डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ‘पर्ख र हेर’को रणनीतिमा रहेका गभर्नर नेपाललाई पछिल्लो समय आफ्नै कार्यालयमा आफू बाइपास हुँदै गएको अनुुभूति हुन थालेको छ । अर्थमन्त्रीले समेत केही समयअघिदेखि गभर्नर नेपाललाई भूमिकाविहीन र पङ्गु बनाउँदै अधिकांश कामहरु डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीमार्फत गराउन थालेपछि नेपाल झस्किएका छन् । 

आफूलाई बाइपास गरेर अर्थमन्त्रीले शिवाकोटीलाई अगाडि बढाई अर्थमन्त्रालयको नीति निर्देशन पालना गराउने बाटो रोजेपछि भूमिकाविहीन अवस्थामा लामो समयसम्म डा. नेपाल बस्ने अवस्था नरहेको केन्द्रीय बैंकस्थित स्रोतहरुले बताएका छन् । 

अर्थमन्त्रीमा डा. खतिवडाको नियुक्ति भई उनले पद बहाली गर्दै गर्दा गभर्नर नेपाल अर्थमन्त्रालयमा विभागीय मन्त्रीको स्वागतमा पुुगेका थिएनन् । त्यसपछिदेखि नै उनले राजीनामा दिने कुराहरु बाहिर आइरहेका छन् । तर, यो कुुरा केही समय यसकारण सेलायो कि, त्यो अवधिसम्म डा. नेपाल स्वयम् पनि पर्ख र हेरको रणनीतिमा थिए । तर, पछिल्लो समय अर्थमन्त्रीले आफूलाई भूमिकाविहीन बनाउन थालेपछि डा. नेपाल जुनसुकै बेला राजीनामा दिनसक्ने अवस्था रहेको स्रोत बताउँछ । 

‘गभर्नरका अगाडि अब २ वटा विकल्प बाँकी छन् ।’ स्रोतले भन्यो–‘पहिलो, उनले राजीनामा दिएर कम्युनिष्टहरुलाई आफ्नो नीति कार्यान्वयन गर्ने बाटो खोलिदिने । दोश्रो, पदमै बसिरहने, तर भूमिकाविहीन र पङ्गु बनेर ।’ 

सरकारको बजेटको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीसँगै देखिएका गर्भनर डा. नेपालको सो बेलाको गेस्चर र अनुहारको भाव अध्ययन गर्नेहरुले उनी दवाबमा रहेका देखिने दाबी गरेका थिए । त्यसपछि अर्थमन्त्री उपस्थित कार्यक्रममा उनी जान छाडेका छन् । अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रममा समेत गभर्नर नेपाल देखिएनन्, बरु डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको कार्यक्रममा निकै सक्रियता देखिएको थियो । गभर्नर नेपाल काठमाण्डौमै रहेको बेला श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रममा समेत नदेखिनुुले उनी र अर्थमन्त्रीबीचको टसल भित्रभित्रै भूसको आगो झै सल्किरहेको बुुझ्न सकिने स्रोतहरु दाबी गर्छन् ।

‘गभर्नर नेपाल कांग्रेस कार्यकर्ता हुन् । यदि उनी नैतिकवान हुन भने पद छाड्नुु नै राम्रो हुन्छ ।’ राष्ट्रबैंककै एक कार्यकारी निर्देशकले बिजशालासँग भने–‘कि त कम्युनिष्ट एजेण्डा चूपचाप बोकेर हिँड्नुुपर्यो, होइन भने राजनीतिक नियुक्तिबाट आएका नेपालले नैतिकता बचाउने हो भने राजीनामा दिनुुको विकल्पै छैन ।’ 

कांग्रेसले गभर्नर बनाएपछि डा. नेपालले लिएका नीतिहरुको बिषयमा पूर्व गभर्नर डा. खतिवडाले निरन्तर आलोचना गर्दै आएका छन् । डा. नेपालले बैंक तथा बित्तीय संस्थाहरुको पूँजीवृद्धिका लागि अपनाएको बाटोको डा. खतिवडा कटु आलोचक समेत हुन् । राष्ट्रबैंक नेतृत्वको पछिल्लो कम गराई, लिएको अधिकांश नीति र आफ्नै नीतिमा अडिग हुन नसक्ने नेतृत्वको खतिवडाले लेखहरुमार्फत आलोचना गर्दै आएका थिए । आफ्ना कटुु आलोचक पूर्व गभर्नर नै अर्थमन्त्री भएपछि उनको अण्डरमा रहेर काम गर्न सहज नहुने कुरा बुुझेका नेपालले जुनसुकै बेला राजीनामा गर्नसक्ने अवस्था छ ।

डा. नेपाललाई सुशील कोइराला नेतृत्वको सरकारले २०७१ चैत ५ गते गभर्नर नियुक्त गरेको थियो । पाँच वर्षका लागि गभर्नरमा नियुक्त नेपालको लगभग ३ वर्ष पूरा भइसकेको छ । उनले चाहँदा अझै २ वर्षसम्म गभर्नरको रुपमा काम गर्न पाउँछन् । तर, अर्थमन्त्रीसँग टक्कर लिएर राष्ट्रबैंकमा बसिरहनुु उनकै लागि पनि प्रत्यूत्पादक हुनेछ । बमगठबन्धनको सरकारले आफ्ना चुनावी घोषणापत्रमा उल्लेख कुराहरुलाई कार्यान्वयन गर्न गभर्नरलाई समेत दवाब दिनेछ । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ता समेत रहेका डा. नेपालले कि त चूपचाप बाम गठबन्धनको लाइन अनुसार हिँड्नुुपर्छ, त्यसो गर्न नसके उनले राजीनामा दिनुुको विकल्प नरहेको विश्लेषकहरु बताउँछन् । 

नेपाल राष्ट्रबैंक सरकारको प्रमुख आर्थिक सल्लाहकार समेत रहेकोले बाम सरकारले पनि गभर्नरबाट डा. नेपालको जतिसक्दो चाँडो बहिर्गमन चाहेको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले समेत डा. नेपालले चूपचाप राजीनामा दिए हुन्थ्यो भन्ने चाहना निकटस्थहरुसँग व्यक्त गर्ने गरेका छन् । डा. नेपालले राजीनामा दिए आफ्ना निकटस्थलाई गभर्नर बनाउने ओलीको योजना छ । 

को बन्ला नयाँ गभर्नर ?
गभर्नरको राजीनामासँगै बाम सरकारले नयाँ गभर्नरको रुपमा कसलाई नियुक्त गर्छ भन्ने चासो सुरु भएको छ । केही व्यक्तिहरुले गभर्नरका लागि दौडधूप समेत ओली प्रधानमन्त्री भएदेखि नै सुरु गरिसकेका देखिएको छ । 

डा. खतिवडा अर्थमन्त्री नियुक्त भएकाले उनको पहिलो रोजाईमा राष्ट्रबैंककै पूर्व डेपुटी गभर्नर तथा सुशील कोइराला नेतृत्वको सरकारको पालामा गभर्नरका लागि छनौट भएका अन्तिम तीन नाममा पर्न सफल महाप्रसाद अधिकारी रहेका स्रोत बताउँछ । अधिकारी हाल लगानीबोर्डको अध्यक्ष छन् । डा. खतिवडाका प्यारा अधिकारीको नयाँ गभर्नर बन्ने संभावना प्रवल रहेको खतिवडा निकट स्रोत बताउँछ । 

यस्तै, बाम गठबन्धनको सरकार आएसँगै गभर्नर बन्ने दौडमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ समेत देखिएका छन् । उनले समेत गभर्नरका लागि लविङ सुरु गरिसकेका स्रोत बताउँछ । उनलाई एमालेकै जोडबलमा राबा बैंकको सीइओ बनाइएको थियो । 

आफू झापाली रहेको र ओली निकट समेत भएको भन्दै नयाँ गभर्नरको रुपमा मुख मिठ्याउने अर्का व्यक्ति हुन् राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी । ओलीकै आशिर्वादमा जसरी सबैलाई आश्चर्यमा पार्दै उनी डेपुटी बनेका थिए, योपटक समेत उनलाई नै गभर्नर बनाइयो भने पनि आश्चर्य मान्नुुपर्ने छैन । 

अबको गभर्नरमा ओलीले डा. खतिवडाको छनौटलाई विश्वास गर्छन् वा आफ्नो स्वार्थ लाद्छन् भन्ने कुरामा कुन पात्रको भाग्य उदाउँछ भन्ने कुरा निर्भर हुनेछ । डा. खतिवडालाई छनौटको अधिकार दिए महाप्रसाद अबको गभर्नर पक्का जस्तै हुन् । तर ओलीले गभर्नर नियुक्तिमा पनि हस्तक्षेप गर्न चाहे पनि शिवाकोटीको भाग्य चम्किने निश्चित देखिन्छ ।