काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको फागुनसम्म(आठ महिना)को आर्थिक परिदृश्यको समीक्षा सार्वजनिक गरेको छ । सो क्रममा महत्वपूर्ण आर्थिक परिदृश्यमा खासै सुधार हुन नसकेको र निक्षेपभन्दा कर्जा वृद्धिदर उच्च रहेकोले बित्तीय क्षेत्र कसिलो बनेको विश्लेषण गरिएको छ । 

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य रहने देखाएको दाबी गरेको छ । केन्द्रीय बैंकको समीक्षालाई हेरौं बुँदागत रुपमा:

  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मकै तथा गहुँको उत्पादन क्रमसः ९.४ प्रतिशत र ५.० प्रतिशतले बढ्ने अनुमान रहेको छ । तथापि चालु आर्थिक वर्षको सुरुवातमा तराई भागमा आएको भारी वर्षा तथा डुवानका कारण धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आउने अनुमान मन्त्रालयको रहेको छ । कुल कृषि उत्पादनमा खाद्यान्न वालीले महत्वपूर्ण अंश ओगट्ने भएकाले कृषि उत्पादन वृद्धिदर अपेक्षा भन्दा कम रहने अनुमान छ । 
  • गैह–कृषि गतिविधितर्फ चालु आर्थिक वर्षको आठ महिनामा केही जलविद्युत आयोजनाहरु सम्पन्न भएका र कुल विद्युत उत्पादनमा ७२ मेगावाट विद्युत थपिएको छ । फलाम लगायतका कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै उर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने देखिन्छ । त्यसैगरी फलामजन्य वस्तु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पूननिर्माण कार्यले गति लिएको प्रतिविम्वित हुन्छ । 
  • २०७४ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षको २.९ प्रतिशतबाट वृद्धि भई ६.० प्रतिशत पुगेको छ । तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्य वृद्धि र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा मुद्रास्फीति केही बढेको हो । तरकारीजन्य वस्तुहरुको मुद्रास्फीति अल्पकालिक उच्च रहेको भएतापनि औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ । 
  • आयातको स्तर बढेको हुँदा चालु खाता तथा शोधनान्तर घाटामा विस्तार भएको छ । यद्यपि विदेशी विनिमय संचिति ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्नका लागि प्रयाप्त रहेको छ । 
  • २०७४ फागुन मसान्तमा वार्षिक विन्दुगत आधारमा १३.० प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेवाट वित्तीय स्थिति कसिलो रहेको देखिन्छ । स्थानीय, प्रादेशिक तथा संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई तद्अनुरुपका सरकारहरुको गठन भएकाले सरकारी वित्त कारोवारहरुले गति लिइरहेको स्थिति छ । यसबाट आउँदा दिनहरुमा वित्तीय अवस्थामा सुधार आउने अपेक्षा रहेको छ ।