काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक  लिमिटेडलाई प्राप्तिका लागि नेपाल राष्ट्रबैंकबाट सैद्धान्तिक सहमति(एलओआइ) पाएको छ । 

योसँगै यी दुुई संस्थालाई आफूमा गाभ्ने सेञ्चुरीको प्रयासले तीव्रता पाउनेछ । बैंकका सीइओ अनुजमणि तिम्सिनाका अनुसार एलओआईसँगै गाभ्ने र गाभिने संस्थाको डिडिए रिपोर्ट तयारीको काम समेत थालिएको छ । छिटोमा एक महिनाभित्र डिडिएको काम सकिने उनले जानकारी दिए।

देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरीले  चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल निक्षेप रु.३१.६८ अर्व र कर्जा रकम रु. २७.६० अर्ब परिचालन गरी रु. १२.३१ करोड सञ्चालन मुनाफा र रु. ७.४३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नेछ । प्राप्ति, हकप्रद तथा बोनस सेयरबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्रबैंकले तोकेको ८ अर्ब पूँजी पुर्याउने लक्ष्य लिएको छ । 

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकमाझ बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।