– मनिष सोती

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षदेखि आफ्ना सेयरधनीलाई मख्ख बनाउँदै आइरहेको छ। 

आर्थिक वर्ष २०६८–७९ देखि कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा र साधारण सभामा ढिलाइ हुने गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसनको प्रक्रिया लामो हुने भएका कारण लाभांश घोषणा, बोनसदर र एजीएम गर्न ढिलाइ हुने गरेको छ। 

जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७८–७९ कै मुनाफाबाट आ–आफ्ना सेयरधनीलाई लाभाशं घोषणा गर्नै बाँकी रहेको छ। नेपाल लाइफले पनि उक्त आर्थिक वर्षको एक्चुरी भ्यालुएसनको लेखापरीक्षण प्रतिवेदन प्राधिकरणमा पेस गर्न बाँकी छ। 

कम्पनीले उक्त आर्थिक वर्षमा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ घाटा बेहोरेको थियो। तर, जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसनपछि मात्रै कति लाभांश बाँड्न पाउने भन्ने निर्णय हुन्छ। 

नेपाल लाइफको एक्चुरी भ्यालुएसनको कार्य प्रक्रियामै रहेको कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले बताए। ‘नेपाल लाइफको एक्चुरी भ्यालुएसनको कार्य अन्तिम चरणमा पुगिसकेको छ, सम्भवतः असोज मसान्तसम्म सबै कार्य सकिन्छ’, अग्रवालले भने, ‘दसैँअघि नै एक्चुरीको कार्य सकिएर बीमा प्राधिकरणमा भेरिफिकेसनका लागि पेस गर्ने योजना छ।’ 

जीवन बीमा कम्पनीहरुले भारतबाट एक्चुरी भ्यालुएसनको कार्य सकाएर बीमा प्राधिकरणमा भेरिफिकेसनका लागि पेस गर्नुपर्छ। प्राधिकरणले पुनः एक्चुरी भ्यालुएसन गरी विवरण स्वीकृत भएपछि मात्रै कम्पनीहरुले लाभांश तथा बोनसदर घोषणा गर्न पाउनेछन्। 

यसका साथै नेपाल लाइफले उक्त आर्थिक वर्षबाट पनि आफ्ना सेयरधनीलाई राम्रै प्रतिफल दिन सक्ने अग्रवालले बताए। ‘जीवन बीमा कम्पनीहरुले अन्य संस्थाहरुले जस्तो आर्थिक वर्षभरि आर्जन गरेको मुनाफाबाट लाभांश बाँड्ने होइन, एक्चुरी भ्यालुएसनबाट कम्पनीको लाभांश क्षमता निर्भर रहन्छ’, अग्रवालले भने, ‘नेपाल लाइफले विगतका वर्षहरुमा सेयरधनीलाई उत्कृष्ट लाभांश बाँड्दै आइरहेको छ, आर्थिक वर्ष २०७८–७९ मा नाफा आर्जन गर्न नसके पनि कम्पनीले सेयरधनीलाई पक्कै निराशा बनाउँदैन।’ 

‘विगतका वर्षहरु हेरीकन कम्पनीले सेयरधनीको हात खाली नै बनाउने अवस्था भने आउँदैन’, अग्रवालले भने। 

नेपाल लाइफको लाभांश इतिहास 

कम्पनीले विगत १० वर्षदेखि आफ्ना सेयरधनीलाई अन्य बीमा कम्पनीको तुलनामा उत्कृष्ट बोनस तथा नगद लाभांश बाँड्दै आइरहेको छ। आर्थिक वर्ष २०६८–६९ मा कम्पनीले ७० प्रतिशत बोनस र ५६.३१ प्रतिशत नगद लाभांश दिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०६९–७० मा ७० प्रतिशत बोनस र २८.५० प्रतिशत बोनस बाँडेको थियो। 

यसका साथै आर्थिक वर्ष २०७०–७१ मा ६० प्रतिशत बोनस र ८ प्रतिशत नगद, आर्थिक वर्ष २०७१–७२ मा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद, आर्थिक वर्ष २०७२–७३ मा २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद, आर्थिक वर्ष २०७३–७४ मा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद, आर्थिक वर्ष २०७४–७५ मा २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद, आर्थिक वर्ष २०७५–७६ मा ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश, २०७६–७७ मा १४ प्रतिशत बोनस र ०.७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा भने कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो। 

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्न बाँकी रहेको आर्थिक वर्ष २०७८–७९ मा कम्पनी ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको छ। कम्पनीका अनुसार एक्चुरी भ्यालुएसनपछि मात्रै लाभांश क्षमताको निर्णय हुने भएकाले उक्त आर्थिक वर्षमा पनि कम्पनीले चित्तबुझ्दो लाभांश बाँड्न सक्ने संकेत देखिन्छ।