-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । ‘सेयर बजार र मायामा सबै जायज हुन्छ’, यो भनाइ अहिले नेपालको सेयर बजारमा ज्वलन्त उदाहरण बनेको छ। 
सेयर बजारमा एउटा भनाइ सधैँ सुनिन्छ– ‘बजार कति घट्यो ? यो बुल कहिले शुरु हुन्छ ? बेलाबेलामा बजारमा  नेसनल हाइड्रोपावर कम्पनी (एनएचपीसी) को सेयरभाउलाई आधार मानेर विभिन्न अड्कलबाजी चलिरहेका हुन्छन् । हरेक बुलमा जब यो कम्पनीको मूल्य ४०० रुपैयाँभन्दा माथि जान थाल्छ तब सेयर बजारको बुल पनि लगभग सकियो भन्नेको जमात बजारमा ठूलै हुने गर्छ ।

त्यसैगरि, जब यो कम्पनीको सेयरमूल्य १०० नजिक आउँछ बियरिस बजार सकियो भन्ने जमात पनि बजारमा छन् नै । त्यसो त आघिल्लो बियरिस बजारमा सेयर भाउ ५० रुपैयाँमा आएको यो कम्पनीको सेयर भाउ बुलबजारमा १० गुणा बढेर ५०० रुपैयाँभन्दा माथि पुगेको थियो । हाल दोस्रो बजारमा यो कम्पनीको सेयरमूल्य १३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 
आधारभुत पक्ष :
गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी १ अर्व ६४ करोड ५० लाख रुपियाँ छ । यसमा करिब ६५  लाख हकप्रद सेयरको पूँजी जोडिन बाँकी नै छ । कम्पनीको जगेडा कोषमा १ करोड ३१ लाख ३६ हजार  रुपियाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५९ रुपियाँ छ भने नेटवर्थ १००.४१ रुपियाँ छ । कम्पनीको प्रतिसेयर कुल सम्पती १२२.१२ रुपियाँ छ । 
प्राविधिक पक्ष :
एनएचपीसीको सेयरमूल्य विगतको ३ वटा वियरिस र ३ वटा बुल बाजारमा हेर्दा सन् २०१३ को वियरिस बजारमा पनि ५० रुपियाँ आसपासमा आएको थियो । त्यसको एक वर्षपछि २२२ रुपैयाँसम्म पुगेको थियो । त्यहाँबाट पुन : गिरावट आउँदै १११ रुपियाँसम्म आएर यो कम्पनीको सेयरमूल्य पुनः २०० रुपियाँसम्म पुगेको थियो । सन् २०२० को वियरिस बजारमा यो कम्पनीको सेयरमूल्य पुनः ५०  रुपियाँसम्म आएको थियो ।

त्यहाँबाट बुलबजारमा यो कम्पनीको सेयरमूल्य बढेर ५०० रुपैयाँसम्म पुगेको देखिन्छ ।  त्यहाँबाट खसेको यो कम्पनीको सेयरमूल्य हाल १३३ रुपियाँसम्म आएको छ । हालको बजार अवस्था र अझै हकप्रदको सेयरको सप्लाईलाई हेर्दा आगामी दिनमा यो कम्पनीको सेयरमूल्य १०० रुपैयाँ आसपास पनि नआउला भन्न सकिन्न । तर  चरम वियरिस बजार भएको अवस्थामा भने यो कम्पनीको सेयरमूल्य १०० रुपियाँबाट तल नझर्ला भन्न सकिन्न । किनकी यसभन्दा पहिले पनि २ पटक कम्पनीको सेयरमूल्य ५० रुपियाँमा आइसकेको छ । 
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई 
बोलिंगर ब्यान्डको आधारमा यो कम्पनीको सेयरमूल्य  हाल तल्लो ब्यान्डमा चलेको देखिन्छ । यसले बिक्री दवाव कायमै छ भन्ने बुझिन्छ । म्याक्डीमार्फत् हेर्दा बुलिस क्रसओभर बनेको छ  तर हिस्टोग्राममा कुनै सुधार हुन सकेको अवस्था छैन । आरएसआईं ओभर सोल्ड जोन ३१ को तहमा पुगेको छ । 
इचिमोकूको आधारमा : 
इचिमोकूको आधारमा यो कम्पनीको मूल्य रेखा क्लाउड पोजिसनभन्दा तलतल हुँदै झरेका छन् । क्लाउडको रंग पनि रातो छ । यसले यो कम्पनीको सेयरमूल्यमा बिक्री दवाव परेको देखिन्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )