काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटमा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिन जरुरी छ’, उनले भने।

छलफलमा मन्त्री महतले आफू धेरै अप्ठ्यारो परिस्थितिमा आएको बताए। ‘अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्नेछु’, उनले भने, ‘कुन–कुन विषयहरुमा अटोमोबाइल व्यवसायीहरुलाई समस्या परेको छ। त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाइदिनुहोला, त्यसको समुचित समाधानका लागि प्रयास गर्नेछु।’

छलफलमा अध्यक्ष थापाले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुलमा थप छुट दिन अनुरोध गरे। उनले सवारीसाधनलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरी सोहीअनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दे सवारीसाधनलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे। 

अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने बताए। उनले भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरु आमसर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुल घटाउन आग्रह गरे। 

थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरीपैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए। 

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारीसाधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेका कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महसुल घटाउन आग्रह गरे। 

छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छासमेतको उपस्थिति थियो।