काठमाण्डौ । अब प्रयोगात्मक (ट्रायल) पास भएको मितिबाट १८ महिनासम्म सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइने भएको छ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचना प्रकाशित गरी यसअघि कायम व्यवस्थालाई संशोधन गर्दै ट्रायल पास भएको १८ महिनासम्म लाइसेन्स लिन सकिने नयाँ व्यवस्था कायम गरेको हो। यसअघि ट्रायल पास भएको एक वर्षभित्र राजस्व तिर्नुपर्ने, राजस्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीनपटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो। अब यो समयावधि १८ महिना कायम गरिएको विभागले जनाएको छ।

सोहीबमोजिम हुने गरी विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा भेइकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरिएको विभागले जनाएको छ। साथै, सोहीबमाजिम गर्न गराउन पनि विभागले सबै यातायात व्यवस्था कार्यालयहरुलाई अनुरोध गरेको छ।