काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। 

यी दुवै लघुवित्तले आपसमा गाभिएपछि नेसनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। एकीकृत कारोबार प्रयोजनार्थ दुवै संस्थाको असार २९ गते एक दिन सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहनेछ। 

गत असार २२ गते नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

यी दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। 

दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्। यसको अर्थ नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ। 

मर्जरपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१० मा रहनेछ।