– मनिष सोती
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ला कि नगर्ला भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६३.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २६३.९१ रुपैयाँमा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर जारी गरेको थियो। कम्पनीको आईपीओ १ करोड १४ लाख कित्ता बिक्री भएको थियो। जसअनुसार कम्पनीले प्रिमियममार्फत १ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले केही समयअघि प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेका जीवन बीमा कम्पनीले थप हुन आएको प्रिमियम रकमबाट डाइरेक्ट बोनस वितरण गर्न नपाउने बताएका थिए। आईपीओ जारीपश्चात् प्लस हुन आएको पुँजी काउन्ट गरी अपुग पुँजीबराबरको क्यापिटल प्लान प्राधिकरणमा पेस गरेपछि मात्रै बोनस सेयर जारी गर्न पाउने वा नपाउने निर्णय हुने सिलवालले बताएका थिए।
यता कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयालले भने हालसम्म प्राधिकरणबाट क्यापिटल प्लानबारे कुनै पनि पत्र नआएको बताए। ‘हामीले गत वर्षको चैतमा नै प्रिमियम मूल्यमा आईपीओ जारी गर्नुभन्दा अघि थप हुन आएको प्रिमियमबाट बोनस वितरण गरी पुँजी पुर्याउने पत्र पेस गरेका थियौँ’, फुयालले भने, ‘प्रिमियम रकमबाटै बोनस बाँडेर पुँजी पुर्याउने प्राधिकरणसँग सहमति पनि भएको हो तर प्राधिकरणले हालसम्म थप क्यापिटल प्लानको विषयमा कुनै खालको पत्र पठाएको छैन।’
प्रिमियम मूल्यमा आईपीओ जारी गर्नुभन्दा अघि कम्पनीले सोसम्बन्धी क्यापिटल प्लान प्राधिकरणमा पेस गरेको र स्वीकृतसमेत भइसकेको फुयालले बताए। ‘प्राधिकरणबाट हालसम्म कुनै खालको औपचारिक पत्र आइसकेको छैन र हामीले यसअघि नै थप प्रिमियम रकमबाट बोनस जारी गरेर चुक्तापुँजी पुर्याउने प्लान पेस गरिसकेका छौँ, प्राधिकरणको निर्देशनअनुसार नै बोनस सेयर वितरण गर्नेछौँ तर यति–उति नै भनेर किटान भने गर्न सकिँदैन’, उनले भने।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीलाई अझै पनि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्तापुँजी पुर्याउन १ अर्ब अर्थात् २५ प्रतिशत पुँजी जुटाउनुपर्नेछ।
कम्पनीको आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरणसमेत प्राधिकरणबाट स्वीकृत भइसकेको छ। कम्पनीले उक्त आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई २५ प्रतिशतसम्म बोनस घोषणा गर्न सक्ने संकेत देखिन्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19