काठमाण्डौ । नेप्से कर्मचारी संघले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई प्राथमिक शेयर निष्कासन(आईपीओ) मार्फत् पुनसंरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

संघमा आवद्ध कर्मचारीहरुले बुधबार अपरान्ह सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन  १ घण्टासम्म नेप्सेको कार्यालयमा प्लेकार्डसहित दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन् ।

उनीहरुले नेप्सेलाई पुन संरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले  सम्बोधन नगरेसम्म दबाबमूलक कार्यक्रम निरन्तर जारी रहने संघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उता नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले भने सरकारले  नेप्सेको पुन संरचनाको मागलाई  सम्बोधन नगरेमा दसैंपछि कडा आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।

नेप्सेका कर्मचारीले यसअघि पनि  नयाँ स्टक एक्सचेञ्ज ल्याउने होइन बरु हालकै नेप्सेको पुनसंरचना आवश्यक रहेकोमा जोड दिंदै आएका छन् ।

यसअघि महालेखा परीक्षकको कार्यालयले सरकारी स्वामित्वमा रहेको नेप्सेको पुनसंरचना गरी पूँजीबजारको दायरा र आकार वृद्धि गराउन जरुरी रहेको औल्याएको थियो तर सरकार निजी क्षेत्रको सहभागितामा अर्को बजार सञ्चालक स्थापना गर्ने तयारीमा रहेको छ ।