काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–११ सिनागलमा रहेको गौतम भिजेल रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्य कार्य गर्न सक्ने अख्तियारी प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ। 

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत अन्य कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र आर्थिक प्रतिवेदन पनि स्वीकृति गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।